
सर्लाही,०५ असार। जिल्लाको सदरमुकाम मलंगवा नगरपालिका–५, भाडसरका जयकृष्ण महतोको मोटरसाइकल जिल्ला प्रशासन कार्यालय सर्लाहीको पार्किङ स्थलबाट चोरी भएको छ ।
महतोले आफ्ना छोराको नागरिकता बनाउन कार्यालयअघिको तीन बिघा मैदानमा कालो रङको बीआर ३०भी १४४१ नम्बरको होण्डा मोटरसाइकल पार्क गरेका थिए । दिउँसो ४ बजे नागरिकताको काम सकेर बाहिर निस्कँदा मोटरसाइकल पार्किङ स्थलमा नभेटिएपछि उनी आश्चर्यचकित र आक्रोशित भए ।
स्थानीयवासीहरूले जिल्ला प्रशासन कार्यालयजस्तो संवेदनशील स्थानमा सिसिटिभी नहुनु र पार्किङ सुरक्षाको अभावलाई गम्भीर लापरबाही ठहर गरेका छन् ।
सेवाग्राहीको भीड लाग्ने जिल्ला प्रशासन कार्यालय जस्तो स्थानमा यसअघि पनि मोटरसाइकल र हेलमेट चोरीका घटना भएका छन् । यद्यपि प्रशासनले सुरक्षा व्यवस्थामा ध्यान नदिएको गुनासो छ ।
पीडित महतो र स्थानीयवासीले सिसिटिभी जडान र सुरक्षा गार्डको व्यवस्था तत्काल गर्न माग गरेका छन् । उनीहरू भन्छन्, “नागरिकको सेवा गर्ने स्थानमा असुरक्षा बढ्नु दुखद र लज्जास्पद छ ।” जिल्ला प्रशासन कार्यालयले चोरीको घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ ।
