रमेश कुमार यादब
असार ०६, रौतहट
रौतहटको गरुडा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/0८३ का लागि ६९ करोड २६ लाख १७ हजार ३६७ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । शुक्रबार सम्पन्न नगरसभाको १३औँ अधिवेशन तथा ९औँ बजेट अधिवेशन नगरपालिकाको निर्माणाधीन प्रशासकीय भवनमा भव्यताका साथ सम्पन्न भएको हो । कार्यक्रम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको प्रमुख आतिथ्य र नगर प्रमुख कन्थमनी प्रसाद जैसवालको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमका विशेष अवसरमा मन्त्री गुप्तालाई नगर प्रमुख जैसवालले ५१ किलोको फूलको माला लगाई भव्य स्वागत गरेका थिए ।
नगर उपप्रमुख पुनम चौधरीद्वारा प्रस्तुत गरिएको बजेटमा विभिन्न शीर्षकहरूबाट प्राप्त आम्दानी र व्यय विवरण यस प्रकार रहेको थियो ः वित्तीय समानीकरण अनुदान — १३ करोड ४० लाख, राजस्व बाँडफाँड — ११ करोड ४८ लाख ५६७ रुपैयाँ, आन्तरिक आय — १० करोड ८८ लाख, संघीय सरकारबाट प्राप्त सशर्त अनुदान (चालु) — २३ करोड ७३ लाख २० हजार, सशर्त अनुदान (पूँजिगत) — ३ करोड ४१ लख, प्रदेश सरकारबाट प्राप्त राजस्व बाँडफाँड — ३० लाख, प्रदेश सरकारको समपूरक अनुदान — २० लाख, कुल बजेट रकमः ६९ करोड २६ लाख १७ हजार ३६७ रुपैयाँ रकम बराबरको खर्च योजना समेत प्रस्तुत गरिएको थियो ।

नगर प्रमुख जैसवालले सार्वजनिक गरेका नीति तथा कार्यक्रमहरूमा शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी तथा भौतिक पूर्वाधार निर्माणलाई विशेष प्राथमिकता दिइएको छ । नगरवासीलाई सुविधा सम्पन्न बनाउने उद्देश्यले पूर्वाधार निर्माणमा थप बजेट केन्द्रित गरिने जनाइएको छ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले नगरसभालाई सम्बोधन गर्दै भने, “गरुडा नगरपालिका सबै पार्टीको साझा प्रयासबाट सञ्चालन भइरहेको समावेशी र सौहार्दपूर्ण नगर हो ।
विकासका कार्यहरू पारदर्शी र जनउत्तरदायी रूपमा अगाडि बढ्नुपर्ने हुन्छ, जसतर्फ नगर प्रमुख जैसवालको नेतृत्वमा राम्रो काम भइरहेको देखिन्छ ।” मन्त्री गुप्ताले भारतीय सरकारसँगको समन्वयमा ३३ करोड रुपैयाँको खानेपानी परियोजना प्रस्ताव अघि बढाइसकेको जानकारी गराउँदै, यसले गरुडा नगरवासीलाई स्वच्छ र दिगो खानेपानी सेवा उपलब्ध गराउने विश्वास व्यक्त गरेका थिए । त्यसतै नगर प्रमुख कन्थमनी प्रसाद जैसवालले कार्यक्रममा भने, “यो बजेट गरुडा नगरपालिकाको समग्र विकासका लागि ल्याइएको हो । हामी सबै क्षेत्रलाई समेट्दै जनताको चाहना र आवश्यकतालाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं ।

”त्यति मात्र नभएर शिक्षामा बिशेष जोड दिदैं नगर प्रमुख जैसवालले भने एसईईमा उत्कृष्ट नतिजा ल्याउने छात्राहरुलाई प्रोत्साहन स्वरुप ल्यापतप Laptop उपल्बध गराईने बताउनु भएको थियो । उनले जनप्रतिनिधि, कर्मचारी, नागरिक समाज, संचारकर्मी र सम्पूर्ण नगरवासीको साथ र सहकार्यमा मात्रै नगरको समुन्नति सम्भव हुने उल्लेख गरेका थिए ।

कार्यक्रमको समापन गर्दै सभाध्यक्ष जैसवालले जनप्रतिनिधि र जनताको सहकार्यमा समावेशी र उत्तरदायी शासनमार्फत समृद्ध गरुडा निर्माणको सपना साकार बनाउने प्रतिबद्धता दोहोर्याएका थिए । गरुडा नगरपालिकाले प्रस्तुत गरेको आगामी वर्षको बजेटले समावेशी विकास, पारदर्शी प्रशासन र जनमुखी सेवाप्रवाहमा केन्द्रीत रहने स्पष्ट सङ्केत दिएको छ । अब उक्त बजेट कार्यान्वयनमा कत्तिको प्रभावकारी ढंगले अगाडि बढ्छ भन्ने कुराले नगरको भविष्य निर्धारण गर्नेछ ।