सप्तरी, ०९ असार। सप्तरीका प्रहरी प्रमुख (एसपी) ढकेन्द्र खतिवडामाथि फरार अपराधीसँग लाखौं रुपैयाँ असुली गरेको गम्भीर आरोप लागेको छ। उक्त आरोपसँग सम्बन्धित घुस लिएको भिडियो समेत सार्वजनिक भइसकेको छ, तर प्रहरीले एसपीविरुद्ध छानबिनमा ढिलासुस्ती गर्दै आएको देखिएको छ।
प्राप्त जानकारीअनुसार एसपी खतिवडाले वरिष्ठ सई विश्वनाथ त्रिपाठीमार्फत कोशी ब्यारेजका बुधन मण्डल नामक व्यक्तिसँग १० लाख रुपैयाँ घुस लिएका थिए। तीमध्ये ४ लाख रुपैयाँ लिँदै गरेको भिडियो पीडित पक्षले सार्वजनिक गरिसकेको छ। भिडियोमा स्पष्ट रूपमा त्रिपाठी पैसा लिँदै गरेको देखिन्छ।
मधेश प्रदेश प्रहरी कार्यालयले सई त्रिपाठीलाई जिम्मेवारीबाट हटाए पनि उनलाई निलम्बनसमेत नगरेको भन्दै आलोचना भएको छ। घटनामा प्रत्यक्ष प्रमाण सार्वजनिक हुँदा समेत एसपी खतिवडामाथि अनुसन्धान नहुनु मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी उमा प्रसाद चतुर्वेदीको भूमिकामाथि प्रश्न उठ्ने कारण बनेको छ।
प्रहरी संगठनभित्रबाटै आएको सूचनाका अनुसार यो घुस असुलीको घटना कुनै एक्लो उदाहरण होइन। जिल्लाभरका नाकाहरूमा तस्करी मौलाउँदै गएको र त्यसमा प्रहरीको संलग्नता रहेको गुनासो बढ्दो छ। स्रोतका अनुसार, एसपी खतिवडाले जिल्लाको कमाण्ड सम्हालेयता बदनाम घुमुवा प्रहरीहरूलाई नाकामा खटाउने क्रम बढेको छ, जसले भ्रष्टाचार र बेथिति झनै बढाएको छ।
प्रहरी संगठनले उच्च अधिकारीविरुद्ध सार्वजनिक प्रमाणका आधारमा पनि छानबिन नगर्नु, दोषीलाई संरक्षण गर्नु तथा सामान्य तहका कर्मचारीलाई बलिको बोको बनाउने प्रवृत्तिले प्रहरीप्रतिको जनविश्वास नै कमजोर बनाउँदै गएको विश्लेषकहरूको भनाइ छ।


