रौशन कुमार चौधरी
रौतहट,१० असार। रौतहटको कटहरिया नगरपालिका नं- ९ डुमरियामा श्री माध्यमिक बिधालयको प्रगाणमा सोमवार एक औपचारिक कार्यक्रमको आयोजना गरी ४ कोठे भवनको शिलान्यास गरिएको छ ।
संघिय अनुदान बाट ५५ लाखको लागतमा निर्माण हुन लागेको उक्त भवनको शिलान्यास कटहरिया नगरपालिकाको नगर प्रमुख अजय प्रकाश जैसवाल र उपप्रमुख रिता देवी यादवले संयुक्त रूपमा सिलान्यास गर्नु भएको थियो । कार्यक्रममा स्थानिय बुद्धिजीवी, समाजसेवी, राजनैतिक व्यक्तित्व, शिक्षक, अभिभावक तथा गाउँका भद्रभलाद्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख जैसवालले शिलान्यास समारोहलाई सम्बोधन गर्दै भनिन्, “मैले नगर प्रमुखमा निर्वाचित भएदेखि नै नगरबासीको चाहना, आवश्यकता र हितलाई ध्यानमा राखेर काम गर्दै आएकी छु । शिक्षा क्षेत्रलाई सबल बनाउनु मेरो प्राथमिकताको विषय हो ।
“ विद्यालयमा विद्यार्थीको चाप उच्च भएको कारण कक्षाकोठाको अभावले शिक्षण सिकाइमा समस्या उत्पन्न भइरहेको थियो । “यही समस्या दीर्घकालीन रूपमा समाधान गर्न ४ कोठे पक्की भवन निर्माणको प्रक्रिया थालिएको हो,” नगर प्रमुखको भनाइ थियो ।
शिलान्यासका क्रममा उनले विद्यालयको भौतिक संरचना सुदृढ भएमा विद्यार्थीहरूलाई वर्षा, घाम, हावापानीका कारण पठनपाठन अबरुद्ध नहुने बताउँदै अब विद्यार्थीहरू निर्धक्क भई पढ्न सक्ने वातावरण तयार हुने विश्वास व्यक्त गरिन् ।नगर प्रमुख जैसवालले विद्यालयका सम्पूर्ण शिक्षकहरूलाई समयमै उपस्थित भई नियमित र गुणस्तरीय पठनपाठनमा ध्यान दिन निर्देशन समेत दिएकी थिइन् ।
साथै विद्यालयको शैक्षिक प्रगति र विकासमा कुनै किसिमको कमजोरी हुन नदिन आफू सदैव तत्पर रहने दृढता पनि व्यक्त गरिन् ।
सोहि विद्यालयका प्रधानाध्यापक नवल किशोर ठाकुरले सबै अतिथीहरूलाई स्वागत गर्दै शिक्षा विकासको आधारभूत पिलर भएकाले यस प्रकारको संरचना निर्माणले आगामी पुस्तालाई राम्रो वातावरणमा अध्ययन गर्न सहयोग पुर्याउने बताए । स्थानीय जनप्रतिनिधिहरूले विद्यालयको आवश्यकतालाई सम्बोधन गर्दै थप विकास योजनाहरू अगाडि बढाइने प्रतिबद्धता पनि जनाएका थिए ।
उक्त भवन निर्माण कार्य छिट्टै सुरु भई तोकिएको समयावधिमा सम्पन्न गरिने र गुणस्तरीय निर्माण सुनिश्चित गरिने जानकारी दिएका थिए ।
कार्यक्रममा वडा नं -८ का वडाध्यक्ष समिश विक्रम साह श्री जनता मा०वि को वि स अध्यक्ष सोनु यादव र कार्यपालिका सदस्य मनोज जयसवाल , युवा नेता समाज सेवी प्रमोद जयसवाल, स्थानीय, कर्मचारीहरु लगायत भद्रभलादमि मानिसहरुको सहभागिता रहेका थिए ।