सुनसरी,११ असार। सुनसरीको धरानमा प्रतिबन्धित लागुऔषध कारोबारमा संलग्न एक युवकलाई ठूलो मात्रामा लागुऔषधसहित पक्राउ गरिएको छ। ईलाका प्रहरी कार्यालय धरानको टोलीले धरान उपमहानगरपालिका–५ स्थित झर्नाचोकमा डेरा गरी बस्ने १९ वर्षीय सुदिप भन्ने मुन्सन राईलाई मंगलबार राति नियन्त्रणमा लिएको हो।
रातिको समयमा लागुऔषध कारोबार गरिरहेको सूचनाको आधारमा उनको कोठामा खानतलासी गर्दा झोलाभित्र लुकाएर राखिएको ठूलो परिमाणको लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी योगराज खतिवडाले जानकारी दिए।
प्रहरीका अनुसार राईको साथबाट ८ हजार ८७६ क्याप्सुल ट्रामाडोल, ७ हजार ८९० ट्याब्लेट मिफिनिक स्पास, २० ट्याब्लेट नाईट्रेजाम्प, २९५ ट्याब्लेट स्पारेस्ट र ३१२ ट्याब्लेट कोलिवन बरामद गरिएको छ।
ईलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक कोमल ठाकुरका अनुसार पक्राउ परेका राईलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ। साथै, उनलाई आजै जिल्ला अदालतमा पेश गरी म्याद थपको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।


