पाल्पामा एक महिलाको हत्या आरोपी २१ वर्षपछि पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ अषाढ १२, बिहिबार (८ महिना अघि)
  • ४ पटक पढिएको
पाल्पामा एक महिलाको हत्या आरोपी २१ वर्षपछि पक्राउ

पाल्पा,१२ असार। २१ वर्षअघि पाल्पामा एक महिलाको हत्याका आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । पाल्पाको पूर्वखोला गाउँपालिका– १ (तत्कालीन सिलुवा गाविस– ९) मा ५५ वर्षीया चिनिसरा सार्कीको हत्या भएको थियो। 

हत्याका आरोपी ६६ वर्षीय पूर्णबहादुर सार्कीलाई जिल्ला प्रहरी कार्यालय पाल्पाले बिहीबार बिहान पक्राउ गरेको छ ।  उनलाई नेपालगन्जबाट पक्राउ गरी पाल्पा ल्याएर अनुसन्धान अघि बढाइएको पाल्पाका एसपी पवनकुमार भट्टराईले बताए। 

१९ असार ०६१ मा चिनिसराको घरमै हत्या भएको थियो । अनुसन्धान बाँकी रहेका पुराना अपराधका घटनाको फाइल खोतल्ने क्रममा पाल्पा प्रहरीले पूर्णबहादुरलाई पक्राउ गर्न सफल भएको हो ।

‘निरन्तर अनुसन्धान, सूचना संकलन तथा विश्लेषण गर्दा प्रतिवादी पूर्णबहादुर सार्की भारतमा लुकिछिपी बस्ने गरेको र कहिलेकाहीँ बाँके जिल्ला हुँदै नेपालमा आउने–जाने गरेको भन्ने बुझियो,’ एसपी भट्टराईले भने, ‘आज बिहान हाम्रो टोलीले उनलाई नेपालगन्जको जमुनाहा भन्सारअगाडिबाट उनलाई पक्राउ गरेको हो ।’ प्रहरीले उनलाई बिहीबार जिल्ला अदालत, पाल्पामा उपस्थित गराई पाँच दिन थुनामा राख्न म्याद लिएको छ । 

प्रहरीका अनुसार मृतक महिला प्रतिवादीकी सासूआमा हुन्। श्रीमतीले पूर्णबहादुरलाई छाडेर अर्काे बिहे गरेपछि सासूआमासँग विवाद हुँदा उनले कुटपिट गरी हत्या गरेका थिए। हत्यापछि सो उनी गाउँबाट भागेका थिए।  दुई दशकदेखि पेन्डिङमा रहेको यो अनुसन्धानको प्रहरीले सफल अनुसन्धान गरेको छ । 

ताजा अपडेट

खोजी गर्नुहोस