अर्घाखाँची,१३ असार। अर्घाखाँचीको शितगंगा नगरपालिका–६ पाखापानीमा दाजुले आफ्नै भाइको हत्या गरेका छन्।
इलाका प्रहरी कार्यालय ठाडाका अनुसार ४२ वर्षीय विष्णुबहादुर बादीले ३२ वर्षीय आफ्ना सगा भाइ बमबहादुर बादीको टाउकोमा बञ्चरो प्रहार गरेका हुन्। प्रहरी निरीक्षक दीपकसिंह बिष्टका अनुसार बिहीबार राति दुबै दाजुभाइले मदिरा सेवन गरेका थिए। सोही क्रममा भएको भनाभन झगडामा परिणत भई हिंसात्मक स्थिति सिर्जना भएको बताइएको छ।
गम्भीर घाइते भएका बमबहादुरलाई तत्कालै उपचारका लागि ठाडास्थित प्राथमिक स्वास्थ्य केन्द्र पुर्याइएको थियो। तर, चिकित्सकले राति १ बजे नै उनलाई मृत घोषणा गरेका थिए। हत्या गरी फरार रहेका विष्णुबहादुरलाई प्रहरीले राति नै लुकिछिपी बसेको अवस्थामा नियन्त्रणमा लिएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


