
रौशन कुमार चौधरी
असार १४, रौतहट
रौतहटको गरुडा स्थित ईलाका प्रहरी कार्यालय गरुडामा कार्यरत प्रहरी कर्मचारी र त्यहाँ रहेका थुनुवाहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ। २४ घण्टा जनताको सुरक्षामा खटिने सुरक्षाकर्मीहरूलाई स्वस्थ राख्नका लागि नियमित रूपमा स्वास्थ्य परीक्षण गर्नुपर्ने आवश्यकता महसुस गर्दै यो स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।
स्वास्थ्य परीक्षण शिविर ईलाका प्रहरी कार्यालय गरुडाको आयोजना तथा ‘बेटर नेपाल मल्टिस्पेसियालिटी अस्पताल’ को प्राविधिक सहयोगमा सम्पन्न भएको हो। शिविरमा प्रहरी कर्मचारी, थुनुवा तथा कार्यालय नजिकका अन्य प्रहरी युनिटका सुरक्षाकर्मीहरूले पनि स्वास्थ्य सेवा लिएका थिए।

ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायव उपरिक्षक राजन कार्कीका अनुसार निरन्तर चाप र तनावपूर्ण वातावरणमा कार्यरत प्रहरीहरूका लागि समय–समयमा स्वास्थ्य परीक्षण अत्यावश्यक हुने भएकाले कार्यालयमै यस्तो स्वास्थ्य शिविर सञ्चालन गरिएको हो। “स्वस्थ प्रहरी नै प्रभावकारी सुरक्षा दिन सक्षम हुन्छ,“ उहाँले भन्नुभयो, “त्यसैले रोग लागेपछि उपचार गर्नु भन्दा रोगको प्रारम्भिक पहिचान गरेर समयमै समाधान गर्नु हाम्रो उद्देश्य हो।“
शिविरमा जनरल फिजिसियन, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ, नाक–कान–घाँटी रोग विशेषज्ञ लगायतका विशेषज्ञ चिकित्सकहरूमार्फत विभिन्न परीक्षणहरू गरिएको थियो। साथै, निःशुल्क रक्त परीक्षण, रक्तचाप जाँच, मधुमेह परीक्षण तथा आवश्यक परामर्श सेवा पनि प्रदान गरिएको थियो।

प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार यस्तो शिविरले प्रहरी कर्मचारीको मनोबल उच्च बनाउने मात्र होइन, उनीहरूको कार्यक्षमतामा समेत सकारात्मक प्रभाव पार्दछ। उहाँले थप भन्नुभयो, “प्रहरी सधैँ तनावमा काम गर्छ, त्यसैले उनिहरूको शारीरिक र मानसिक स्वास्थ्यमा ध्यान दिनु हाम्रो जिम्मेवारी हो। हामी आगामी दिनमा पनि प्रत्येक दुईदेखि तीन महिनामा यस्ता शिविरहरू नियमित रूपमा सञ्चालन गर्दै जानेछौं।“
थुनुवाहरूका लागि पनि स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको थियो, जसले मानव अधिकारको दृष्टिकोणबाट समेत यो शिविरलाई महत्वपूर्ण बनाएको छ। कार्यालय परिसरमै भएको स्वास्थ्य शिविरमा सहभागीहरुले पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरेका छन्।

