रौतहट,१५ असार। आज देशभर ‘राष्ट्रिय धान दिवस’ भव्य रूपमा मनाइँदैछ । खेतमा हिलोमा रमाउँदै, असारे भाकामा लोकगीत गाउँदै किसानहरू रोपाइँको चटारोमा व्यस्त छन् भने दही चिउरा खाएर थकान मेटाउँदै कृषिसंस्कृति झल्काइरहेका छन् ।
असार १५ लाई ‘दही चिउरा खाने पर्व’को रूपमा समेत चिनिन्छ । यो दिन खेतमा काम गर्ने किसानदेखि शहरका पेशागत व्यक्तिसम्मले दही चिउरा खाएर शक्ति सञ्चय गर्ने चलन रहेको छ । यसले शारीरिक ऊर्जा दिनुका साथै संस्कृति र सामूहिकताको बोध गराउने विश्वास गरिन्छ ।
दही नेपाली संस्कृतिमा शुभताको प्रतीक हो । घरबाट निस्कँदा निधारमा टीका लगाउने, शुभ कार्यमा सगुनस्वरूप दही खुवाउने परम्परा रही आएको छ । वैज्ञानिक दृष्टिले पनि दही पाचनशक्ति बढाउने र रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउने खाद्य हो । आयुर्वेद अनुसार भोजनपछि मोही (मथिएको दही) सेवन गरेमा चिकित्सकको खाँचो नपर्ने भनाइ छ ।
राष्ट्रिय धान दिवसको सुरुवात २०६२ सालदेखि भएको हो । कृषिप्रधान मुलुक नेपालमा वर्षभरको अन्न उत्पादनको मुख्य समय भएकाले यो दिन किसानका लागि विशेष मानिन्छ । ‘छुपु छुपु हिलोमा…’ जस्ता असारे भाकामा रमाउँदै लाठे र रोपाहारले खेतमा रोपाइँ गर्छन् ।
तर यो वर्ष समयमै पर्याप्त वर्षा नहुँदा धान रोपाइँ सुस्त देखिएको छ । मल आपूर्ति सम्बन्धी समस्या पनि कतिपय जिल्लामा देखिएको छ । यद्यपि कृषि मन्त्रालयले पर्याप्त मल मौज्दात रहेको दाबी गरेको छ । खेतीपाती, संस्कार र स्वास्थ्य तीनवटैको समिश्रण झल्काउने असार १५ ले नेपाली समाजमा कृषिप्रतिको सम्मान र श्रमको महत्त्व दर्शाउँदै आएको छ ।


