भारतको ओडिशाको पुरीमा जगन्नाथ रथयात्राका क्रममा ठूलो दुर्घटना भएको छ । आइतबार बिहान ४ बजेतिर गुण्डिचा मन्दिर अगाडि भगवान् जगन्नाथको नन्दीघोष रथ नजिकै भीडमा भागदौड मच्चिँदा दुर्घटना भएको हो ।
भागदौड क्रममा ३ जना भक्तजनको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन् । घाइतेहरूमध्ये ६ जनाको अवस्था गम्भीर रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
मृतकहरूको ३६ वर्षीय बसन्ती साहु (३६), ७८ वर्षीय प्रेम कान्ति मोहन्ती, प्रभात दासको रूपमा पहिचान गरिएको छ । सबै मृतकहरूको शव पुरी मेडिकल कलेजमा राखिएको भारतीय प्रहरीलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरूले जनाएका छन् ।
रथ हेर्न ठूलो भीड जम्मा भएको बेला दुर्घटना भएको बुझिएको छ । प्रत्यक्षदर्शीहरूका अनुसार रथ यात्राका क्रममा मच्चिएको भागदौडमा च्यापिएर मान्छेहरू घाइते भएका थिए । भागदौड भएको ठाउँमा पर्याप्त प्रहरी वा सुरक्षा बल तैनाथ नगरिएको समेत बताइएको छ ।
भगवान् बलभद्र र सुभद्राका रथहरू पहिले नै श्रद्धाबली (अन्तिम बिन्दु) पुगिसकेका थिए । पछि भगवान् जगन्नाथको रथ उनकी काकीको घर, गुण्डिचा मन्दिर पुर्याइएको थियो ।
यसअघि शुक्रवार (२७ जुन) मा देवी सुभद्राको रथ वरिपरि भीडको बढ्दो चापका कारण ६ सय २५ भन्दा बढी भक्तजनको स्वास्थ्य बिग्रिएको थियो । प्रशासनका अनुसार ७० जनालाई अस्पताल भर्ना गरिएको थियो । घाइतेहरूमध्ये मध्ये ९ जनाको अवस्था गम्भीर छ ।
भगवान् जगन्नाथको रथयात्रा शुक्रवार (जुन २७) पुरीमा अपराह्न ४ बजे सुरु भएको हो । पहिले भगवान् बलभद्रको रथ तानिएको थियो । त्यसपछि सुभद्रा र जगन्नाथको रथ तानिएको थियो । पहिलो दिन बलभद्रको रथ २०० मिटरसम्म तानिएको थियो भने सुभद्रा-भगवान् जगन्नाथको रथ पनि केही दूरीसम्म तानिएको थियो ।
शनिवार बिहान १० बजेदेखि रथयात्रा पुनः सुरु भएको थियो । भक्तजनहरूले तीन रथ तान्न थालेका थिए । भगवान् बलभद्रको रथ तलध्वज बिहान ११:२० बजे र देवी सुभद्राको दर्पदलन रथ दिउँसो १२:२० बजे आइपुगेको थियो र त्यसपछि भगवान् जगन्नाथको नन्दीघोष रथ दिउँसो १:११ बजे गुण्डिचा मन्दिर पुगेको थियो ।


