भारतको तेलङ्गानामा रहेको एक औषधि कारखानामा सोमबार भयावह विस्फोट र त्यसपछिको आगलागीले विनाशकारी रूप लिँदा कम्तीमा ३६ जनाको ज्यान गएको छ भने झन्डै तीन दर्जन कामदार गम्भीर घाइते भएका छन्।
राज्यको राजधानी हैदराबाददेखि करिब ५० किलोमिटर टाढा रहेको औद्योगिक क्षेत्रस्थित सिगाची इन्डस्ट्रिज लिमिटेड नामक कम्पनीको एक युनिटमा भएको उक्त दुर्घटनापछि घटनास्थलमा भीषण आगलागी भएको थियो। राज्य दमकल सेवा निर्देशक जी.भी. नारायण रावका अनुसार, घटनास्थलमा ३४ जना कामदारका जलेका शव फेला पारिएको छ भने दुई जना अस्पतालमा मृत घोषित भएका छन्।
दमकल टोली अझै भग्नावशेष हटाउने कार्यमा खटिएको छ। रावका अनुसार कारखानाको ‘स्प्रे ड्रायर युनिट’ मा कच्चा औषधिजन्य पदार्थ प्रशोधन गर्ने क्रममा विस्फोट भएको हो। विस्फोटको आवाज केही किलोमिटर टाढाबाट समेत सुन्न सकिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
राज्यका स्वास्थ्यमन्त्री दामोदर राजा नरसिंहले दुर्घटनाको बेला कारखानाभित्र १०८ जना कामदार रहेका जानकारी दिनुभयो। शवहरू अत्यधिक जलेर विकृत भएकाले पहिचान गर्न डिएनए परीक्षणका लागि विशेष मेडिकल टोली खटाइएको छ। साथै, घटनाको अनुसन्धान गर्न राज्य सरकारले उच्चस्तरीय प्यानल गठन गरेको छ।
घाइतेहरूलाई नजिकको अस्पतालमा उपचार गरिँदैछ। कारखानाको सम्पूर्ण संरचना ध्वस्त भएको छ र बाँकी भग्नावशेष हटाउने कार्य केही घण्टामा सकिने आशा गरिएको छ।
भारत विश्वका प्रमुख औषधि उत्पादन केन्द्रहरूमध्ये एक हो। यस्तो संवेदनशील क्षेत्रको सुरक्षामा कमजोरी देखिनु चिन्ताको विषय बनेको छ। रासायनिक रिएक्टरसँग सम्बन्धित औद्योगिक दुर्घटना बारम्बार दोहोरिने प्रवृत्तिले कडा सुरक्षा प्रोटोकल आवश्यक रहेको देखिएको छ।
सिगाची इन्डस्ट्रिज लिमिटेड भारतभर पाँच उत्पादन एकाइ तथा अमेरिका र संयुक्त अरब इमिरेट्समा सहायक कम्पनीसहित सक्रिय औषधि सामग्री र भिटामिन–खनिज मिश्रण उत्पादन गर्ने कम्पनी हो।