वीरगञ्ज,१८ असार। जिल्ला प्रहरी कार्यालय, पर्साले सोमबार दिउँसो विशेष सूचनाका आधारमा मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति बारा जिल्लाको कलैया उप-महानगरपालिका–१२ का २९ वर्षीय पवन कुमार साह रहेका छन्।
प्रहरीका अनुसार वीरगञ्ज महानगरपालिका–१५ स्थित भिष्वा क्षेत्रबाट दिउँसो साहलाई नियन्त्रणमा लिइएको हो। उनी भारतबाट ल्याइएका दुई युवतीलाई विभिन्न प्रलोभन देखाई वीरगञ्जका होटल तथा लजहरूमा वेश्यावृत्तिमा संलग्न गराउँदै आएको खुलेको प्रहरीले जनाएको छ।
उनीहरूले खाना र पैसा दिने प्रलोभनमा युवतीलाई वेश्यावृत्तिमा लगाउने गरेको र सोबाट आएको रकम आफैंले राख्ने गरेको पत्ता लागेको छ। पीडित दुवै युवती (नाम गोप्य गरिएको) को सकुशल उद्धार गरी सुरक्षित स्थानमा राखिएको प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी किशोर लम्सालले जानकारी दिए।
पक्राउ परेका साहविरुद्ध मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमतिसहित अनुसन्धान भइरहेको लम्सालले बताए।
यो घटनाले सीमावर्ती क्षेत्रमा मानव बेचबिखन र यौनशोषणजस्ता आपराधिक गतिविधि अझै गम्भीर रहेको पुष्टि गरेको छ। प्रहरीले यस्ता अपराध नियन्त्रण गर्न निगरानी थप कडा बनाएको जनाएको छ।


