बारा,१८ असार। बाराको मटिअर्वामा घरायसी विवाद हुँदा श्रीमानले श्रीमतीको हत्या गरेका छन्।
बारा जिल्लाको कलैया उपमहानगरपालिका – १० मटिअर्वामा भएको एक घरेलु हिंसाको घटनामा ३५ वर्षीय बच्चा मियाँले आफ्नै २३ वर्षीय पत्नी सहिना खातुनको धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराद्वारा जारी प्रेस विज्ञप्ति आज दिउँसो करिब ३:१५ बजे मटिअर्वा निवासी बच्चा मियाँले आफ्नै घरमा पत्नी सहिना खातुनसँग घरायसी विवादको क्रममा कुटपिट गरेका थिए । विवाद चर्किँदै जाँदा उनले मासु काट्ने दाब (धारिलो हतियार) प्रयोग गरी सहिनाको टाउको र गर्दनमा प्रहार गर्दा उनको मृत्यु भएको थियो ।
घटना भएको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बारा र प्रहरी चौकी मटिअर्वाबाट प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो । प्रारम्भिक अनुसन्धानपछि प्रहरीले अभियुक्त बच्चा मियाँलाई पक्राउ गरेको छ । साथै, हत्यामा प्रयोग भएको दाब पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराले घटनाको गम्भीरतालाई मध्यनजर गर्दै थप अनुसन्धान सुरु गरेको छ । अभियुक्त बच्चा मियाँमाथि हत्याको कसुरमा कानुनी कारबाही अगाडि बढाइएको छ । प्रहरीले घटनास्थलको मुचुल्का, साक्षीहरूको बयान, र अन्य प्रमाणहरू सङ्कलन गरी अनुसन्धानलाई तीव्रता दिएको छ ।
प्रारम्भिक जानकारी अनुसार, घटना घरायसी विवादबाट उत्पन्न भएको देखिन्छ । यद्यपि, विवादको मूल कारण र अन्य पृष्ठभूमिबारे प्रहरीले गहिरो अनुसन्धान गरिरहेको छ । घटनाहरूले समाजमा घरेलु हिंसा र यसका दुखद परिणामहरूबारे गम्भीर प्रश्नहरू उब्जाएका छन् ।


