कटहरियाका तिन वटा सामुदायिक विद्यालयमा खेलकुद सामग्री वितरण

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ अषाढ १८, बुधबार (८ महिना अघि)
  • ३ पटक पढिएको
कटहरियाका तिन वटा सामुदायिक विद्यालयमा खेलकुद सामग्री वितरण

वर्तमानकाल सम्वाददाता

रौतहट,१८ असार। कटहरिया नगरपालिकाले शिक्षा तथा शारीरिक विकासमा टेवा पु–याउने उद्देश्यका साथ आफ्ना क्षेत्रभित्रका सामुदायिक विद्यालयहरूमा विविध प्रकारका खेलकुद सामग्रीहरू वितरण गरेको छ ।

बुधबार एक विशेष समारोहको आयोजना गरी नगर उपप्रमुख रिता देवी यादव र राष्ट्रिय वातावरण संरक्षण तथा ग्रामीण विकास केन्द्र, कटहरिया–फत्तेपुरका अध्यक्ष रौशन कुमार चौधरीले संयुक्त रूपमा विद्यालयका प्रतिनिधिहरूलाई सामग्रीहरू हस्तान्तरण गरेका हुन् । यस कार्यक्रममा चेसबोर्ड, लुडो, स्किपिङ डोरी, क्यारमबोर्ड, भलिबल, फुटबल, ब्याटमिन्टन सेट, क्रिकेटको ब्याट तथा बल जस्ता सामग्रीहरू विद्यालयहरूलाई प्रदान गरिएको थियो ।

यी सामग्रीहरू हरेक विद्यालयमा विद्यार्थीहरूको शारीरिक सक्षमता, मानसिक विकास र आपसी सहयोग भावना अभिवृद्धि गराउने लक्ष्यका साथ वितरण गरिएको हो ।

माध्यमिक विद्यालय भसेढ्वाका प्रधानाध्यापक राम मंगल यादवले यस किसिमको सहयोगले विद्यार्थीहरूमा अतिरिक्त क्रियाकलापमा रुचि बढाउने र शैक्षिक गतिविधिसँगै खेलकुदमा पनि सन्तुलन ल्याउने विश्वास व्यक्त गर्नुभयो ।

“सहयोग सानो भए पनि यसको महत्व गहिरो छ,” उहाँले भन्नुभयो । कटहरिया नगरपालिका–६ का वडा अध्यक्ष जयराम चौधरीले विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि खेलकुद अत्यावश्यक रहेको बताउँदै यस पहलले विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा ठूलो योगदान दिने धारणा राख्नुभयो ।

नगर उपप्रमुख रिता देवी यादवले नगरपालिकाले शिक्षा, स्वास्थ्य र खेलकुदलाई समग्र विकासको आधार मानेर योजनाहरू अघि सारेको उल्लेख गर्दै आगामी दिनमा अझ ठूला र प्रभावकारी योजनाहरू सञ्चालन गरिने प्रतिबद्धता जनाउनु भयो ।

कटहरिया नगरपालिका भित्र रहेका तीन सामुदायिक विद्यालयहरू — श्री माध्यमिक विद्यालय भसेढवा, श्री माध्यमिक विद्यालय बगही, आधारभूत विद्यालय फत्तेपुर रहेका छन । यी तीनवटै विद्यालयमा हाल करिब ४,००० विद्यार्थीहरू अध्ययनरत रहेका छन् । नगरपालिकाको यो कार्यक्रमले ती सबै विद्यार्थीहरूलाई प्रत्यक्ष फाइदा पुग्ने विश्वास गरिएको छ

यस किसिमको सहकार्यबाट सामुदायिक विद्यालयहरूमा आवश्यक पूर्वाधारको विस्तार, विद्यार्थीहरूको आत्मविश्वासमा वृद्धि र खेलकुद संस्कृतिको विकास हुने अपेक्षा गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस