वर्तमानकाल सम्वाददाता
रौतहट,१८ असार। कटहरिया नगरपालिकाले शिक्षा तथा शारीरिक विकासमा टेवा पु–याउने उद्देश्यका साथ आफ्ना क्षेत्रभित्रका सामुदायिक विद्यालयहरूमा विविध प्रकारका खेलकुद सामग्रीहरू वितरण गरेको छ ।
बुधबार एक विशेष समारोहको आयोजना गरी नगर उपप्रमुख रिता देवी यादव र राष्ट्रिय वातावरण संरक्षण तथा ग्रामीण विकास केन्द्र, कटहरिया–फत्तेपुरका अध्यक्ष रौशन कुमार चौधरीले संयुक्त रूपमा विद्यालयका प्रतिनिधिहरूलाई सामग्रीहरू हस्तान्तरण गरेका हुन् । यस कार्यक्रममा चेसबोर्ड, लुडो, स्किपिङ डोरी, क्यारमबोर्ड, भलिबल, फुटबल, ब्याटमिन्टन सेट, क्रिकेटको ब्याट तथा बल जस्ता सामग्रीहरू विद्यालयहरूलाई प्रदान गरिएको थियो ।
यी सामग्रीहरू हरेक विद्यालयमा विद्यार्थीहरूको शारीरिक सक्षमता, मानसिक विकास र आपसी सहयोग भावना अभिवृद्धि गराउने लक्ष्यका साथ वितरण गरिएको हो ।
माध्यमिक विद्यालय भसेढ्वाका प्रधानाध्यापक राम मंगल यादवले यस किसिमको सहयोगले विद्यार्थीहरूमा अतिरिक्त क्रियाकलापमा रुचि बढाउने र शैक्षिक गतिविधिसँगै खेलकुदमा पनि सन्तुलन ल्याउने विश्वास व्यक्त गर्नुभयो ।
“सहयोग सानो भए पनि यसको महत्व गहिरो छ,” उहाँले भन्नुभयो । कटहरिया नगरपालिका–६ का वडा अध्यक्ष जयराम चौधरीले विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि खेलकुद अत्यावश्यक रहेको बताउँदै यस पहलले विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा ठूलो योगदान दिने धारणा राख्नुभयो ।
नगर उपप्रमुख रिता देवी यादवले नगरपालिकाले शिक्षा, स्वास्थ्य र खेलकुदलाई समग्र विकासको आधार मानेर योजनाहरू अघि सारेको उल्लेख गर्दै आगामी दिनमा अझ ठूला र प्रभावकारी योजनाहरू सञ्चालन गरिने प्रतिबद्धता जनाउनु भयो ।
कटहरिया नगरपालिका भित्र रहेका तीन सामुदायिक विद्यालयहरू — श्री माध्यमिक विद्यालय भसेढवा, श्री माध्यमिक विद्यालय बगही, आधारभूत विद्यालय फत्तेपुर रहेका छन । यी तीनवटै विद्यालयमा हाल करिब ४,००० विद्यार्थीहरू अध्ययनरत रहेका छन् । नगरपालिकाको यो कार्यक्रमले ती सबै विद्यार्थीहरूलाई प्रत्यक्ष फाइदा पुग्ने विश्वास गरिएको छ
यस किसिमको सहकार्यबाट सामुदायिक विद्यालयहरूमा आवश्यक पूर्वाधारको विस्तार, विद्यार्थीहरूको आत्मविश्वासमा वृद्धि र खेलकुद संस्कृतिको विकास हुने अपेक्षा गरिएको छ ।


