नक्कली प्रहरी बनेर लुटपाट र अपहरणमा संलग्न माओवादी नेता पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ अषाढ १९, बिहिबार (७ महिना अघि)
  • ३ पटक पढिएको
नक्कली प्रहरी बनेर लुटपाट र अपहरणमा संलग्न माओवादी नेता पक्राउ

वीरगञ्ज,१९ असार। आफूलाई प्रहरीको भेषमा प्रस्तुत गरी लुटपाटको योजनामा संलग्न रहेको आरोपमा नेकपा (माओवादी केन्द्र) को भ्रातृ सङ्गठन वाईसीएलका पूर्व सदस्य कुशल पाण्डे पक्राउ परेका छन् ।

२६ वर्षीय पाण्डेले विराटनगरमा हालैका लुटपाटका घटनाहरूमा मुख्य भूमिका खेलेको प्रहरीको दाबी छ । मोरङ प्रहरीले बुधवार विराटनगर–११ का पाण्डेलाई नियन्त्रणमा लिएको हो ।

पाण्डेविरुद्ध अपहरण, चोरी र डाँका सम्बन्धी मुद्दा दर्ता गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ । पाण्डे यसअघि पनि विभिन्न आपराधिक गतिविधिमा मुछिएको प्रहरी रेकर्डमा छ । 

असार ११ गते बिहान ११:१५ बजे विराटनगर–१५ का २० वर्षीय विक्रमकुमार साह तेलीमाथि लुटपाट भएको थियो । पीडित साहले आफ्ना भिनाजु धर्मानन्द साहबाट लिएको तीन लाख ६४ हजार रुपैयाँ बैंकमा जम्मा गर्न जाँदै थिए ।

तर, विराटनगर आँखा अस्पताल नजिकै पुग्दा पाण्डेसहितको समूहले उनलाई अपहरण गरी विराटनगर–१४ जतुवामा पुर्‍याएर लुटपाट गरेको प्रहरी अनुसन्धानले देखाएको छ । आफूलाई प्रहरी बताएर साहलाई तर्साउने र उनको साथबाट नगद खोसेर उक्त समूह फरार भएको थियो । प्रहरीले घटनामा प्रयोग भएको को १४ प ३३३० नम्बरको स्कुटर पनि नियन्त्रणमा लिएको छ ।

घटनामा संलग्न अन्य दुई अभियुक्त, विराटनगर–८ का समीर हुसेन र विराटनगर–६ का आशिव अन्सारीलाई प्रहरीले आइतबार नै पक्राउ गरिसकेको छ । फरार रहेका पाण्डेलाई भने बुधवार पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी नारायणप्रसाद चिमरियाले घटनालाई गम्भीर रूपमा लिइएको बताए । “यो सङ्गठित अपराधको एउटा कडी हुन सक्छ, त्यसैले हामीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छौँ,” उनले भने । पीडित साहको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान सुरु गरेको हो ।

 घटनाले विराटनगरमा सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएको छ भने प्रहरीले थप संलग्न व्यक्तिहरूको खोजी र अनुसन्धानलाई तीव्र बनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस