रौशन कुमार चौधरी
असार १९, रौतहट
फतेपुरमा जेष्ठ नागरिकप्रति सम्मान प्रकट गर्ने उद्देश्यले एक भव्य कार्यक्रम गरी ४५ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । कार्यक्रम वडा नं. ६ का वडाअध्यक्ष जयराम चौधरीको संयोजकत्वमा आयोजना गरिएको थियो ।समारोहमा वडाका ४० भन्दा बढी जेष्ठ नागरिकलाई विभिन्न बस्त्र, विशेष गरी पुरुषलाई कमिज र गम्छा तथा महिलालाई गम्छा प्रदान गरी सम्मान गरिएको हो । कार्यक्रममा वडाका एकल वृद्ध, अपाङ्गता भएका तथा आर्थिक रूपले कमजोर जेष्ठ नागरिकलाई प्राथमिकतामा राखिएको थियो । कार्यक्रमको आर्थिक सहयोग वडा नं. ६ बाट गरिएको हो भने संयोजन ग्रामीण विकास केन्द्र, कटहरिया फतेपुरले गरेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि कटहरिया नगरपालिकाकी उपप्रमुख रिता देवी यादव रहेकी थिईन् । उनले कार्यक्रममा बोल्दै भनिन्, “हामीले थोरै भए पनि जेष्ठ नागरिकलाई सम्मान गर्ने परम्पराको सुरुवात गरेका छौँ । आगामी वर्षदेखि नगरका सबै वडामा रहेका एकल, विपन्न तथा अपाङ्ग जेष्ठ नागरिकलाई सम्मान गरिनेछ ।” उनले यो कार्यलाई समाजमा सकारात्मक सन्देश दिने परम्पराको रूपमा विकास गरिने उल्लेख गरिन् ।

उनका अनुसार, “जेष्ठ नागरिक हाम्रो समाजको धरोहर हुन् । उनीहरुको अनुभव, ज्ञान र योगदानको कदर गर्नु हामी सबैको कर्तव्य हो ।” उपप्रमुख यादवले यस्ता कार्यक्रमले भावी पुस्तामा पनि जेष्ठ नागरिकप्रति सम्मान र संवेदनशीलता बढाउने विश्वास व्यक्त गरिन् ।वडाअध्यक्ष जयराम चौधरीले कार्यक्रममा सहभागी भएका सबै जेष्ठ नागरिकप्रति कृतज्ञता व्यक्त गर्दै यस्तो सम्मान कार्यक्रम आगामी दिनमा पनि निरन्तर गर्ने प्रतिबद्धता जनाए ।
उनले भने, “हामीले आजको दिनमा न केवल वस्त्र प्रदान गर्यौँ, तर उनीहरुको अनुभव सुन्ने, उनीहरुसँग संवाद गर्ने अवसर पनि प्राप्त गर्यौँ, जुन निकै महत्वपूर्ण भयो ।” कार्यक्रममा सहभागी ७० वर्षीय जेष्ठ नागरिक रामबली चौधरीले वर्तमान पुस्ताले जेष्ठ नागरिकको अनुभव र ज्ञानको कदर नगरेको गुनासो गरे । उनले भने, “हामीले जीवनका अनेकौं अनुभव सँगालेका छौँ, तर नयाँ पुस्ता हामीलाई सुन्न तयार छैन । तर आज यो कार्यक्रमले हामीप्रति आदर र कदर देखाएको छ, जुन अत्यन्त सराहनीय छ ।”

कार्यक्रममा स्थानीय समाजसेवी, बुद्धिजीवी, महिला समूह तथा युवाहरूको समेत उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा जेष्ठ नागरिकको अनुहारमा देखिएको हर्ष र खुसीले कार्यक्रमको सार्थकता झल्किएको थियो । कटहरिया–६ मा गरिएको यो सम्मान कार्यक्रम जेष्ठ नागरिकप्रतिको कदर र जिम्मेवारीको उदाहरणीय पहल हो । यस्ता कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याउने, पाका पुस्ताको सम्मान गर्न प्रेरणा दिने र सामाजिक समावेशीताको भावना बढाउने विश्वास स्थानीयहरूले व्यक्त गरेका छन् । कार्यक्रममा वडा सचिव सुनिता मुखिया, प्राविधिक रंजित चौधरी, विश्वनाथ दास, क.स पवन सहनी, बैधनाथ पासवान बुद्धिजिवी, शिक्षक, समाजसेवी, पुर्व वडाअध्यक्ष लगायत गाउँको भद्र भलादमी मानिसहरुको सहभागिता रहेको थियो ।


