धरानमा बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ अषाढ २०, शुक्रबार (७ महिना अघि)
  • ३ पटक पढिएको
धरानमा बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ

सुनसरी,२० असार। श्रमदान गर्न आएका बेला १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा ४९ वर्षीय खगेन्द्र राई पक्राउ परेका छन् । धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा धरान–१६ मा भएको श्रमदानका बेला बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले राईलाई पक्राउ गरेको हो ।

पीडितका परिवारले राईविरुद्ध किटानी जाहेरी दिएका छन् । किटानी जाहेरीपछि धरान–१७ पृथ्वीचोकका राईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जवेगुले बताए । धरान बहुभाषिक पाठशाला निर्माणको बेला श्रमदान गर्न आएका राईले बालिकामाथि यौनदुर्व्यवहार गरेको आरोप छ ।

प्रहरीका अनुसार पक्राउ परेका राई श्रमदातालाई खाना पकाउने काममा खटिएका थिए । बालिका आफ्नी आमासँग श्रमदानमा आएकी थिइन् । त्यही क्रममा राईले बालिकालाई फकाएर खोल्सातिर लगी हातपात गर्न खोजेको आरोप छ ।

उक्त घटनाबारे मेयर साम्पाङलाई थाहा थिएन । पीडकलाई भगाउन सहयोग गरेको भन्दै अन्य दुईजनाविरुद्ध पनि किटानी जाहेरी परेको प्रहरीले जनाएको छ । श्रमदाता कुन्दन श्रेष्ठ र समीर तामाङविरुद्ध किटानी जाहेरी परेको प्रहरीले जनाएको छ ।

पीडित परिवारका सदस्यले प्रहरी बोलाउन खोज्दा कुन्दन श्रेष्ठले श्रमदाता मानसिक रोगी भएको बताएको र त्यस्तालाई कुटेर केही फाइदा नहुने बताएका जनाएका छन् । श्रेष्ठले ‘यस्ता घटना बाहिर ल्याउन उल्टै बालिकाको बदनाम हुने’ भन्दै लुकाउनुपर्ने सुझाव दिएको पीडितका पारिवारले बताएको छ ।

पाठशालामा खोलाले कटान गरेपछि मेयर साम्पाङको नेतृत्वमा तारजाली लगाउन श्रमदान अभियान चलिरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस