वीरगञ्जमा भन्सार छलेर ल्याइएका १८ लाखभन्दा बढी मूल्यका कपडा बरामद

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ अषाढ २०, शुक्रबार (७ महिना अघि)
  • ४ पटक पढिएको
वीरगञ्जमा भन्सार छलेर ल्याइएका १८ लाखभन्दा बढी मूल्यका कपडा बरामद

वीरगञ्ज,२० असार। वीरगञ्ज महानगरपालिका – १ स्थित छपकैया र नदिया टोलका विभिन्न घरहरूमा भन्सार छली गरी लुकाइ राखिएको करिब १८ लाख ५० हजार रुपैयाँ बराबरको कपडा सशस्त्र प्रहरी बलले छापामारी बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्सा र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले विशेष सूचनाका आधारमा छापा मारेर उक्त परिमाणको कपडा नियन्त्रणमा लिएको हो । बरामद कपडाहरू भारतबाट तस्करी गरी ल्याइ स्थानीय घरमा लुकाइ राखिएको अवस्थामा फेला परेको प्रहरीले दाबी गरेको छ ।

गणका सूचना अधिकारी, सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) देवेन्द्र बहादुर सिंहका अनुसार, तस्कर समूहले भन्सार छल्दै कपडाहरू लुकाएर राखेको विशेष सूचनाको आधारमा छापामारी गरिएको थियो । “सामग्रीहरू बाहिर पठाउने तयारी भइरहेको सूचना पाएपछि छापा मारिएको हो,” उनले भने ।

सूचनाको आधारमा पहिलो पटक कारबाही अगाडि बढाइएको डिएसपी सिंहले बताए । “तस्कर समूहले ल्याएको कपडा स्थानीय बासिन्दाको घरमा भण्डारण गरिएको थियो, उनले भने ।

बरामद गरिएका सबै कपडाहरू आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको उनले जानकारी दिए ।घटनाले वीरगञ्ज क्षेत्रमा क्रियाशील तस्कर समूहको सञ्जाल र उनीहरूले अपनाउँदै आएको नयाँ रणनीतिप्रति सुरक्षा निकायको ध्यानाकर्षण गराएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस