सर्लाही,२० असार। सर्लाहीमा पुर्व प्रदेश सभा सदस्य अशोक यादव र जिल्ला प्रहरी प्रमुख (एसपी) योगेन्द्र खड्काबीचको फोन संवाद गालीगलौजमा परिणत भएपछि स्थिति तनावपूर्ण बनेको छ।
बिहीबार राति यादवलाई पक्राउ गर्न सलेमपुरस्थित घरमा पुगेको प्रहरी टोलीले स्थानीयको आक्रोश खेप्नुपर्यो। ढुंगामुढा भएपछि प्रहरीले प्रयोग गरेको गाडी तोडफोड भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सरोज राईले जानकारी दिए।
घटना शृंखलाको सुरुवात पूर्वाधार विकास कार्यालय, सर्लाहीमा देखिएको अनियमिततासँग जोडिएको हो। पुर्व सांसद यादवले सो कार्यालयमा प्रहरीको संरक्षणमा भ्रष्टाचार भएको गम्भीर आरोप लगाएका छन्। “प्रति उपभोक्ता ५० हजार घूस मागिएको छ,” उनले दाबी गर्दै भने, “मैले उपभोक्ताको गुनासो लिएर एसपी साबलाई फोन गर्दा उल्टै गाली सुन्नुपर्यो, त्यसपछि मैले पनि जवाफ फर्काएँ।”
प्रदेश सरकारले सञ्चालित निजी आवास कार्यक्रमअन्तर्गत आठ जनाको घर बने पनि भुक्तानी रोकिनु र घूस मागिएको गुनासो उपभोक्ताबाट आएको यादवको भनाइ छ। तर, पूर्वाधार विकास कार्यालयका प्रमुख विजय यादव भने फरक धारणा राख्छन्।
उनका अनुसार निर्माण कार्य सम्पन्न नभएको र कागजात अपूर्ण भएकाले भुक्तानी रोकिएको हो। “माननीयको दबाबले हामी डराइरहेका छौं,” उनले भने, “बिहीबार त उहाँ आफैं कार्यालय पसेर कागजात फाइल नै खोसेर लगे।”
प्रहरीका अनुसार फोनमै एसपीलाई अपशब्द प्रयोग गरेकाले सांसद यादवविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाइएको हो। तर, पक्राउ गर्न गएका बेला गाउँलेको ढुंगामुढाले गाडी क्षति भएको र यादव फरार रहेको डिएसपी राईले जानकारी दिए। घटनाले प्रदेशस्तरका नेताको भूमिकामाथि प्रश्न उठाउनुका साथै प्रशासन र जनप्रतिनिधिबीचको समन्वय अभाव उजागर गरेको छ।