धनुषा,२० असार। धनुषाको धनौजी गाउँपालिकामा पूर्व अध्यक्ष बद्री नारायण सिंहसहित ९ जनाविरुद्ध सार्वजनिक सम्पत्ति हिनामिना र भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार सिंहसहितका व्यक्तिहरुले बजार नाला तथा फोहरमैला व्यवस्थापन शीर्षकमा विनानिर्णय बजार सेड निर्माणको काम अघि बढाएको, सो कार्यमा एकै निर्माण व्यवसायीमार्फत तीन वटा कम्पनीको नामबाट टेन्डर भर्न लगाई प्रतिस्पर्धा विहीन रूपमा सम्झौता गरिएको पाइएको छ।
एकता सप्लायर्स एण्ड कन्स्ट्रक्सन नामक कम्पनीसँग गोप्य मिलेमतोमा गरिएको उक्त सम्झौता मार्फत गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरि निर्माण सम्पन्न गरिएको र सो कार्यको नापी किताब समेत कामभन्दा बढी देखाइ भुक्तानी गरिएको आयोगको दाबी छ।
अनुसन्धानपछि अख्तियारले गाउँपालिकाका तत्कालीन अध्यक्ष बद्री नारायण सिंह, उपाध्यक्ष रामबति देवी मण्डल, दुई पूर्व प्रमुख प्रशासकीय अधिकृतहरू गौरीशंकर मण्डल र सावनकुमार चौधरी, सब–इन्जिनियर छोटे मण्डल, तत्कालीन योजना शाखा प्रमुख नायब सुब्बा नरेशकुमार मण्डल, लेखापाल राधेश्याम राय, सह–लेखापाल बिनोदकुमार मण्डल र एकता सप्लायर्स एण्ड कन्स्ट्रक्सनका सञ्चालक इन्द्रेशकुमार सिंहविरुद्ध मुद्दा दायर गरेको हो।
उनीहरूमाथि कुल ३१ लाख ३४ हजार ७७९ रुपैयाँ बराबरको भ्रष्टाचार गरेको अभियोगमा त्यही रकम बराबरको बिगो असुल र कानुन अनुसारको सजाय माग गर्दै विशेष अदालतमा अभियोगपत्र दर्ता गरिएको छ।


