सर्लाही,२१ असार। सर्लाहीमा जसपा नेता र प्रहरीबीचको गालीगलौजपछि स्थिति चर्किंदै गएको छ । जनता समाजवादी पार्टी (जसपा) मधेस प्रदेशका अध्यक्ष तथा पूर्व प्रदेश सांसद अशोक यादवविरुद्ध सर्लाही जिल्ला अदालतले शुक्रबार पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला प्रहरी प्रमुख (एसपी) योगेन्द्रकुमार खड्कासँगको टेलिफोन संवादमा ‘लुटेरा’ भन्ने शब्द प्रयोग गरेको आरोपमा अदालतले पक्राउ आदेश दिएको हो।
तर सार्वजनिक अडिओ संवादअनुसार, संवादमा पहिले एसपी खड्काले नै गाली गरेको स्पष्ट सुनिन्छ, त्यसपछि यादवले प्रतिवाद गरेका छन्। अडिओमा एसपीले आवाज चर्काउँदै, “कसलाई गाली गरेको?” भन्दै धम्कीपूर्ण शैलीमा जवाफ दिएको सुनिन्छ, त्यसपछि यादव आक्रोशित देखिन्छन्। अडिओ अहिले सामाजिक सञ्जालमा भाइरल छ।
गृह मन्त्रालयको निर्देशनपछि सर्लाही अदालतबाट पक्राउ पुर्जी जारी भएको र ‘आपराधिक उपद्रव’ मुद्दामा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। प्रहरीका अनुसार यादवलाई पक्राउ गर्न जिल्लाका सबै प्रहरी तैनाथ छन्। उनका मोबाइल ट्र्याकिङमार्फत खोजी भइरहेको र एक हजारभन्दा बढी प्रहरी परिचालन गरिएको डिएसपी सरोज राईले जानकारी दिए।
यसबीच, बिहीबार राति यादवलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि समर्थकहरूले ढुंगामुढा गरेको, प्रहरीको गाडी तोडफोड गरेको, बाटो अवरुद्ध पारेको आरोप पनि लागेको छ। यी सबै घटनालाई आधार मानी यादवमाथि थप मुद्दा दर्ता गरिएको छ। घटनापछि प्रहरीको केन्द्रीय निर्देशनमा मधेस प्रदेश प्रहरी कार्यालयले कानुनी प्रक्रिया अघि बढाएको छ। डिआइजी विनोद घिमिरेका अनुसार, “घटनाको गम्भीर अनुसन्धान गरी आवश्यक कारबाहीको प्रक्रिया थालिएको छ।”
तर नेता यादवले आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन्। उनले व्यापारीहरू प्रहरीबाट पीडित रहेको र आफूले तिनको पक्षमा आवाज उठाएको बताए। “मैले सत्यतथ्य बोलेको हुँ, यो सबै राजनीतिक प्रतिशोध हो,” यादवले प्रतिक्रिया दिएका छन्। यस घटनाले मधेसको राजनीतिमा तरंग ल्याएको छ। जसपाले प्रहरीलाई व्यापारीहरूमाथि दमन गरेको भन्दै विरोध गरिरहेको छ भने प्रहरीले कानुनअनुसारको प्रक्रिया मात्र अगाडि बढाएको बताएको छ।
गालीगलौजको अडिओ सार्वजनिक भएपछि प्रहरीले प्रश्न खेप्नु परिरहेको छ। कतिपयले एसपी खड्काको व्यवहारप्रति पनि आपत्ति जनाएका छन्। सामाजिक सञ्जालमा बहस चलिरहेको छ, प्रहरीको अडान कति कानुनी हो ? र नेताको व्यवहार कति मर्यादित ? यादव र एसपीबीचको यो टकरावले सर्लाहीमा मात्र होइन, सम्पूर्ण मधेसमा सुरक्षा र राजनीतिक तनावको वातावरण बनाएको छ। घटनाको निष्पक्ष छानबिन र संयमित समाधान अब राज्यका लागि चुनौती बनेको छ।