वीरगञ्ज,२१ असार। भारतको बिहार राज्यको राजधानी पटनामा शुक्रवार राति त्यहाँका प्रख्यात व्यवसायी गोपाल खेमकाको मोटरसाइकलमा आएका दुई बन्दुकधारीहरूले गोली हानेर हत्या गरेका छन् ।
घर फर्किरहेका खेमका गाडीबाट ओर्लिन साथ बन्धुकारीहरूले उनीमाथि गोली प्रहार गरेर हुन् । उनको उपचारको क्रममा मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
घटना पटनाको गान्धी मैदान थानाबाट केवल पाँच सय मिटर टाढा भएको बताइए पनि आश्चर्यजनक रूपले डेढ घण्टासम्म कुनै पनि प्रहरी अधिकारी घटनास्थलमा नपुगेको परिवारका सदस्यहरूले आरोप लगाएका छन् । घटनाले स्थानीय व्यवसायीहरूमा ठूलो आक्रोश पैदा गरेको छ ।
गोपाल खेमका बिहारका चर्चित र ठूला व्यवसायीहरूमध्ये एक हुन् । उनी पटनास्थित मगध अस्पतालका सञ्चालक हुन् । साथै, उनको पटनामा औषधि पसलहरू, हाजीपुरमा दुई वटा कार्टुन कारखाना, र पटनाको एक्जिबिसन रोडमा पेट्रोल पम्प पनि छ । हाजीपुर औद्योगिक क्षेत्रमा उनको अर्को कारखाना छ र अन्य थुप्रै व्यवसायहरूमा पनि उनको संलग्नता छ ।
शुक्रवार राति, गोपाल खेमका बांकीपुर क्लबबाट फर्केर गान्धी मैदानस्थित आफ्नो ट्विन टावर अपार्टमेन्टमा पुगेका थिए । कारबाट ओर्लने बित्तिकै, पहिलेदेखि लुकेर बसेका दुई मोटरसाइकल सवार बन्दुकधारीहरूले उनको कन्चटमा गोली प्रहार गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
गोली लागेपछि परिवार र स्थानीयहरूले उनलाई कंकडबागस्थित मेडिवर्सल अस्पताल पुर्याएका थिए । त्यहाँ उपचारका क्रममा चिकित्सकहरूले उनलाई मृत घोषित गरेको भारतीय प्रहरीले जनाएको छ ।
गोली चलाएपछि अपराधीहरू हतियार लहराउँदै बेखौफ रूपमा घटनास्थलबाट फरार भएको बुझिएको छ । प्रहरीले घटनास्थल नजिकको सिसिटिभी फुटेजहरूको जाँच गरिरहेको बताएको छ । हत्याको कारण भने अझै स्पष्ट हुन सकेको छैन ।
मेडिवर्सल अस्पतालले गान्धी मैदान थानालाई गोली प्रहारको विषयमा जानकारी दिए पनि डेढ घण्टासम्म प्रहरी नआउँदा परिवार र व्यवसायीहरूले अस्पतालमा हङ्गामा गर्दै प्रहरीको व्यवहार प्रति प्रश्न उठाएका थिए । गोपाल खेमकाको भाइ शङ्कर खेमकाले पनि प्रहरीमाथि गम्भीर आरोप लगाए । उनले भने, “थाना के गरिरहेको थियो? सुतिरहेको थियो कि ड्युटीमा थियो? गोलीको आवाज किन सुनिएन? राति डेढ बजे बल्ल गान्धी मैदानको प्रहरी आयो । दुई बजेको आसपासमा एसडीपीओ आए र अढाई बजेको आसपासमा सिटी एसपी म्याडम आए । उनीहरू तमासा हेर्न आएजस्तो व्यवहार गरे ।”
खेमकाको अपार्टमेन्टका सुरक्षा गार्ड राम पारसका अनुसार कारको हर्न बजेपछि गेट खोल्न जाँदा गोलीको आवाज सुनिएको थियो । “राति करिब साढे ११ बजेको थियो । गेटमा पुग्दा उहाँ रगतमा लतपत लडिरहनुभएको थियो, तर सास अझै चलिरहेको थियो । प्रहरी राति २:३० बजेपछि मात्र आयो,” सुरक्षा गार्डलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले लेखेका छन् ।
हत्याले पटनाको व्यवसायी समुदायमा ठूलो त्रास फैलिएको छ । परिजनहरूले प्रहरीमाथि सामान्य नागरिक र व्यवसायीहरूको सुरक्षा गर्न नसकेको आरोप लगाएका छन् । “प्रहरी केवल रक्सी तस्कर समात्न र चेकिङको नाममा उगाहीमा व्यस्त छ,” स्थानीय एक व्यापारीले आक्रोश व्यक्ति गर्दै भने । घटनाको जानकारी पाएपछि धेरै ठूला व्यवसायीहरू अस्पताल र खेमकाको घर पुगेका थिए । सबैले प्रहरीसँग सुरक्षा सुनिश्चित गर्न र हत्यारालाई चाँडो पक्राउ गर्न माग गरेका छन् ।
खेमका परिवारमा हत्याको यो पहिलो घटना भने होइन । यादअघि सन् २०१८ को डिसेम्बरमा गोपाल खेमकाका छोरा गुन्जन खेमकाको पनि हाजीपुरमा गोली हानेर हत्या भएको थियो । उनी आफ्नो पेपर मिल जाँदै गर्दा अपराधीहरूले गोली प्रहार गरे उनको हत्या गरेका थिए । घटनाको रहस्य पनि पूर्ण रूपमा सुल्झिएको छैन ।
गोपाल खेमकाका दुई छोरा थिए । छोरामध्ये गुन्जनको २०१८ मा हत्या भएको थियो र अर्का छोरा पटनाको आईजीआईएमएसमा डाक्टर छन् ।
घटनामा बिहार प्रहरीका डीजीपी विनय कुमारले विशेष अनुसन्धान टोली (एसआईटी) गठन गरिएको बताएका छन् । टोलीको नेतृत्व सिटी एसपी सेन्ट्रलले गर्ने उनको भनाइ छ । उनले भने, “हामी चाँडै अपराधीहरूलाई पक्राउ गर्ने छौँ ।” प्रहरीले घटनास्थलबाट दुई वटा खाली कारतुस (गोलीको खोला) फेला पारेको छ । कारतुसलाई परीक्षणको लागि लागि पठाइएको छ ।
त्यस्तै पटना टाउन डिएसपी-२ प्रकाशले घटनाको प्रहरीले गम्भीरतापूर्वक जाँच गरिरहेका बताए । “सिसिटिभी फुटेजहरू खंगालिएको छ, र सबै सम्भावित प्रमाणहरू सङ्कलन भइरहेका छन्,” उनले भने ।
घटनाले बिहारको कानुन-व्यवस्थामाथि ठूलो प्रश्न उठाएको छ । काँग्रेस नेता प्रेम चन्द्र मिश्रले बिहारमा गुन्डाराज चलिरहेको आरोप लगाएका छन् । “अपराधीहरू अपराध गरेर भाग्छन्, र प्रहरी हेरेर बस्छ,” उनले भने ।
मिश्रले नीतीश कुमार र भाजपा सरकारमाथि जनताको ज्यान र सम्पत्तिको रक्षा गर्न असफल भएको आरोप लगाए । आरजेडी सांसद मनोज झाले पनि सरकारको आलोचना गर्दै बिहारमा सरकार नामको कुनै चीज नरहेको बताए । यता, सत्तापक्षका नेताहरूले भने सरकारको बचाउ गरेका छन् । भाजपा नेता गुरु प्रकाशले भने,
“मुख्यमन्त्री, दुवै उपमुख्यमन्त्री र वरिष्ठ अधिकारीहरूले घटनालाई गम्भीरतापूर्वक लिएका छन् । दोषीमाथि कडा कारबाही हुनेछ ।” उनले ‘जङ्गलराज’को आरोपलाई खण्डन गर्दै पहिलेको र अहिलेको अवस्थालाई तुलना गर्न नहुने बताए । जेडीयू नेता नीरज कुमारले घटनालाई चुनौतीको रूपमा लिएको र चाँडै नतिजा आउने दाबी गरे ।
गोपाल खेमकाको हत्या पटनामा बढ्दो अपराधको गम्भीर उदाहरण बनेको छ । प्रहरीको ढिलासुस्ती र बेखौफ अपराधीहरूले सहरको सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएको छ । व्यवसायी समुदायले तत्काल सुरक्षा र हत्याराको पक्राउको माग गरेको छ । प्रहरीले एसआईटीमार्फत जाँच तीव्र पारेको दाबी गरे पनि घटनाले बिहारको कानुन-व्यवस्थाको अवस्थालाई लिएर चिन्ता बढाएको छ ।