जनकपुरधाम,२१ असार। मधेस प्रदेशसभामा आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफल गर्न भोलि आइतबार दिउँसो १ बजे बैठक बस्ने भएको छ ।
प्रदेशसभा सचिवालयका अनुसार, गत असार १ गते प्रदेश सरकारका अर्थमन्त्री सुनिलकुमार यादवले बजेट प्रस्तुत गरेका थिए । त्यसपछि असार ११ गते बसेको बैठक आधा घण्टा पनि नचल्दै स्थगित भएको थियो ।
सभामुख रामचन्द्र मण्डलले सरकारको आग्रहमा बैठक अनिश्चित कालका लागि स्थगित गरेपछि विपक्षी दलहरूले कडा आपत्ति जनाएका थिए । असार १२ गते बोलाइएको अर्को बैठक पनि एक घण्टा अगावै स्थगित भएको थियो ।
सभामुखले विपक्षी दलहरूलाई कुनै जानकारी नदिई बैठक स्थगित गरेको भन्दै प्रमुख प्रतिपक्षी जनता समाजवादी पार्टी नेपाल, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलले आक्रोश व्यक्त गरेका छन् ।
दलहरूले आगामी प्रदेशसभा बैठक बहिष्कार गर्ने चेतावनीसमेत दिएका छन् । बजेटमाथिको छलफललाई लिएर उत्पन्न विवादले मधेस प्रदेशसभाको आगामी बैठक कसरी अघि बढ्छ भन्ने चासो बढाएको छ ।