रौतहट,२२ असार। रौतहटको गुजरा नगरपालिका–३ स्थित जंगलशैया–सिम्री सडक खण्डको जङ्गल क्षेत्रबाट लागू औषधसहित दुई युवकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ।
शनिवार साँझ ६:१५ बजेमा सशस्त्र प्रहरी बल, नेपाल फर्वाड सुरक्षा बेस जंगलशैयाबाट खटिएको गस्ती टोलीले चेकजाँचको क्रममा दुई जनाको साथबाट ठुलो परिमाणमा लागू औषध बरामद गरेको हो ।
पक्राउ पर्नेमा बारा जिल्ला निजगढ नगरपालिका–८ निवासी १८ वर्षीय माइला भनिने नव बहादुर वाइबा र सोही ठाउँ बसोबास गर्दै आएका १९ वर्षीय दावा योञ्जन रहेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी सन्तोष कुमार बस्नेतले बताए। उनीहरूले झोलामा लुकाइछिपाई लागू औषध बोकेको अवस्थामा प्रहरीले फेला परेको हो ।
उनीहरूको साथबाट ट्रामोडोल ५० एमजी ३०० पिस, नाइट्राजेपाम ट्याब्लेट १० एमजीको १४० पिस ,नेट्जेकेयर १० एमजी ५ पिस, नुफिन इन्जेक्सन १ थान, डाइजेपाम १ थान, फेनेरगन १ थान बरामद गरिएको एसपी बस्नेतले जानकारी दिए ।
पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय लक्ष्मिनिया विजयपुरमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।