बारा,२३ असार। बारा प्रहरीले नौ लाख ७६ हजार चार सय ५० रुपैयाँ बराबरको सात हजार नौ सय ९५ लिटर अखाद्य तेलजन्य पदार्थ एवम् गाडी सहित मानिसलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् सूचना अधिकारी विजयराज पण्डितले एक प्रेस विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएका हुन्।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २२ हलेसि पेट्रोल पम्प नजिक विष्णुराज ठकुरीको जग्गामा सोही ठाउँ वस्ने अन्दाजी २२ वर्षीय सुरेन आलेले संचालन गरेको गाडी वास ग्यारेज पछाडीबाट सो तेल बरामद गरेको हो।
ग्यारेज पछाडी खालि ठाउँमा तेल ट्याङकरबाट तेलहरु चोरी गरि बेचबिखन भईरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिमराबाट खटेको प्रहरी टोलीले सो तेल बरामद गरेको हो।
ईलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीको कमाण्डमा खटिएको टोलिले ना. १ क २८३६ नं. को मिनि ट्रकलाई नियन्त्रणमा लिएको हो।
सो मिनी ट्रकका चालक बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १२ फत्तेपुर बस्ने २१ वर्षीय सुवास चौधरीले तेलहरु उक्त ट्रकमा लोड गर्दै गरेको अवस्थामा फेला पारी प्रहरीले नियन्त्रणमा लिएको हो। तेल र उक्त मिनि ट्रक सहित ट्रक चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको विज्ञप्तिमा पण्डितले जनाएका हुन्।
एक हजार लिटरको ६ वटा ड्रम र १५ लिटरको ५३ वटा ग्यालेनमा गरी जम्मा पाँच हजार सात सय पन्चानब्बे लिटर बनस्पति जन्य तेल जस्तो देखिने अखाध्य पदार्थ प्रहरीले बरामद गरेको हो।
२०० लिटरको ५ वटा ड्रममा एक हजार लिटर पेट्रोल बरामद गरिएको छ। २०० लिटरको ३ वटा ड्रममा छ सय लिटर डिजल समेत प्रहरीले बरामद गरेको छ।
२०० लिटरको २ वटा ड्रममा २०० लिटर र १ वटा ड्रममा १०० लिटर र २० लिटरको १५ वटा ग्यालेनमा ३०० लिटर गरि जम्मा छ सय लिटर मट्टितेल समेत प्रहरीले बरामद गरेको हो।


