सिरहा,२३ असार। सिरहाको गोलबजार नगरपालिका चोहर्वास्थित जनता नमूना माध्यमिक विद्यालयका शिक्षक हरि श्रेष्ठमाथि छात्रा दुर्व्यवहारको आरोपसहित अभिभावकले विद्यालयमा तोडफोड गरेका छन् ।
शिक्षक श्रेष्ठले १३ वर्षीया र ८ वर्षीया छात्रालाई लामो समयदेखि यौन दुर्व्यवहार गरेको भन्दै आमा आइतबार विद्यालय पुगेकी थिइन् । त्यसपछि अभिभावक र युवाले विद्यालय पुगेर तोडफोड गरेका छन् । आक्रोशित भिडको ढुङ्गामुढाबाट कक्षाकोठाका सिसाहरू फुटेको छ ।
विद्यालयमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । शिक्षक श्रेष्ठलाई तत्कालै पक्राउ गरी कानूनी दायरामा ल्याउन र प्रधानाध्यापकलाई बर्खास्त गर्न अभिभावकले माग गरेका छन् ।
आफ्नो छोरी विद्यालय जान डराएपछि शिक्षक श्रेष्ठले दुर्व्यवहार गरेको बताएको पीडितकी आमाले बताएकी छन् । कक्षामै संवेदनशील अंग छुने गरेको छोरीको भनाइ उद्धृत गर्दै उनले भनिन् ।
आमाले गत शुक्रबार शिक्षिका रञ्जु सिंहसमक्ष सिकायत गरेपनि प्रधानाध्यापकबाट ढाकछोप गर्न खोजिएको आरोप लगाएकी छन् ।
तोडफोड र नाराबाजीपछि गोलबजार प्रहरीले शिक्षक श्रेष्ठलाई नियन्त्रणमा लिएको छ । इन्स्पेक्टर गोविन्दप्रसाद साहले घटनाबारे अनुसन्धान गरिरहेको बताए ।
दुवैजना छात्रालाई स्वास्थ्य परीक्षणका लागि प्रादेशिक अस्पताल सिरहा लगिएको छ । विद्यार्थीहरूले पनि विरोधसहित आन्दोलनको तयारी गरिरहेका छन् ।


