वीरगञ्ज,२४ असार। जिल्ला प्रहरी कार्यालय बाराले ठूलो मात्रामा प्रतिबन्धित लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका–७ का करिब २० वर्षीय सेराज अन्सारी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी सहायक निरीक्षक नन्द किशोर सिंहको नेतृत्वमा रहेको पिकेट ड्युटी टोलीले अन्सारीलाई सोमबार साँझ कलैया उपमहानगरपालिका–५ स्थित भरत चौक नजिक मटिअर्वातर्फ जाने बाटोको छेउबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, शङ्कास्पद रूपमा दुई वटा क्यारेट लिएर उभिएका अन्सारीलाई देखेपछि निगरानी गरिएको थियो । प्रहरी टोली देखेपछि भाग्न खोजे पनि तत्काल नियन्त्रणमा लिइएको थियो ।
पक्राउपश्चात् गरिएको खानतलासीमा क्यारेटको माथिल्लो भागमा आँप राखिएको र तल्लो भागमा लागूऔषध लुकाइएको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ ।
पक्राउ परेका अन्सारीबाट प्रहरीले नोफिन एक हजार पाँच सय पिस, फेनारगन पनि एक हजार पाँच सय पिस र डाइजोपाम एक हजार पाँच सय पिस गरी कुल चार हजार पाँच सय पिस लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले अन्सारीलाई लागूऔषध सम्बन्धी मुद्दामा नियन्त्रणमा राखी आवश्यक अनुसन्धान अघि बढाइएको जनाएको छ ।
प्रहरी स्रोतका अनुसार लागूऔषधको तस्करीमा संलग्न समूहको विस्तृत अनुसन्धानका लागि अन्सारीबाट थप विवरण सङ्कलन गर्ने कार्य जारी छ । लागूऔषध रोकथाम तथा नियन्त्रणका लागि बारा प्रहरीले निगरानी र चेकजाँच कडा पारेको जनाएको छ ।


