रौतहट,२५ असार। रौतहटको चन्द्रपुर नगरपालिका–२ स्थित जुडिबेला वन क्षेत्रबाट डिभिजन वन कार्यालय रौतहटको टोलीले मंगलबार राति साल जातको काठसहित तस्करीमा प्रयोग भएको भारतीय नम्बर प्लेटको टाटा सफारी गाडी (UP14 BW 1445) बरामद गरेको छ ।
वन अधिकृत अनिल कुमार महतो र रेन्जर विकास लामिछानेको संयुक्त कमान्डमा खटिएको गस्ती टोलीले सात थान सालको गोलिया काठ बरामद गरेको हो। यद्यपि, यो बरामदगीसँगै काठ तस्करीमा वन कर्मचारी र प्रहरी दुवैको मिलेमतो रहेको स्थानीयले गम्भीर आशंका व्यक्त गरेका छन्।
उनीहरूका अनुसार, नियमित गस्ती भए पनि संगठित तस्करी समूह र कमजोर निगरानीका कारण वन क्षेत्रबाट काठ तस्करी मौलाउँदै गएको छ । यो घटनाले चुरे दोहन र वन विनाशको गम्भीर समस्यालाई पुनः उजागर गरेको छ ।
असार महिनामा समेत पानीको हाहाकार हुनुमा वन विनाश र चुरे दोहन मुख्य कारण रहेको विज्ञहरूले औँल्याएका छन् । तर, यसको नियन्त्रणका लागि सरोकारवाला निकायहरूबाट प्रभावकारी पहल नभएको जनगुनासो छ । स्थानीयको भनाइमा, वन क्षेत्रको संरक्षण र तस्करी नियन्त्रणका लागि अझ प्रभावकारी गस्ती, सूचना संकलन र कर्मचारी तथा प्रहरीको जवाफदेहिता आवश्यक छ ।
बरामद गरिएको गाडी र काठलाई आवश्यक अनुसन्धानपछि कानुनी कारबाही प्रक्रिया अघि बढाइने वन कार्यालयले जनाएको छ । तर, यो घटनाले वन विनाश रोक्न र चुरे संरक्षणका लागि किन प्रभावकारी कदम चालिएको छैन भन्ने प्रश्न खडा गरेको छ ।
पानीको स्रोत सुक्दै जाँदा र वातावरणीय सन्तुलन बिग्रँदै जाँदा पनि सरोकारवाला निकायहरूको मौनताले आम नागरिकमा निराशा छाएको छ । के यो तस्करीमा संलग्न सबै पक्षमाथि निष्पक्ष अनुसन्धान भई दोषीमाथि कारबाही होला ?


