वर्षाका कारण बर्दघाट क्षेत्र डुबानमा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ अषाढ २५, बुधबार (७ महिना अघि)
  • ३ पटक पढिएको
वर्षाका कारण बर्दघाट क्षेत्र डुबानमा

बुटवल,२५ असार। मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण नवलपरासीको बर्दघाट आसपासको क्षेत्र डुबानमा परेको छ। बर्दघाट नगरपालिका वडा नम्बर १० र ११ का अधिकांश बस्ती डुबानमा परेका हुन्। स्थानीय अर्जुन पाण्डेका अनुसार बर्दघाट क्षेत्रमा मंगलबार रातिदेखि अविरल वर्षात् भएको थियो।

अहिले पानी पर्न केही मत्थर भए पनि रातभर परेको वर्षाको कारण बस्ती र खेत डुबानमा परेका छन्। बर्दघाट नगरपालिका वडा नम्बरस्थित १० ध्रुव टोल, लण्डन ब्रिज, भुताहा, पानीट्यांकी टोल, बेलटाँडी, मौराहा टाँडी लगायतका टोलहरू डुबानमा परेका छन्। 

बस्तीमा पानीको निकास कम भएपछि घरभित्रै पानी पसेको छ। डुबानले घरभित्र रहेका खाद्यान्न, अन्नपात, लत्ता–कपडा भिजेर नष्ट भएका छन्। त्यस्तै गोठमा बाँधिएका वस्तुभाउ, पशुपंक्षी लगायत उद्योग गोदाम र पसलहरू डुबानमा पर्दा ठूलो क्षति भएको वडा नम्बर १० का वडा सदस्य ऋषि पराजुलीले जानकारी दिएका छन्।

स्थानीय नाला–खहरे र खोलाहरू सफा नहुँदा पानीले निकास नपाएको र बस्ती नै डुबानमा परेको पराजुलीले बताए। पराजुलीका अनुसार बर्दघाट माथिबाट बग्ने अल्हाल खोला र भुताहाको सिरानबाट बग्ने खोला थुनिएर बहाव परिवर्तन गर्दा बाढी बस्तीमा पस्ने गरेको छ। 

त्यस्तै पुराना कुलाहरू पुरिने र निर्माणाधीन पूर्वपश्चिम राजमार्ग उँचो बन्दा पानीको निकास बन्द हुने र सडकदेखि उत्तरतर्फका बस्ती डुबानमा पर्ने गरेका छन्। 

‘पहिलेका राजकुला र अन्य साना कुलाहरू पनि पुरिँदै गए, मुख्य राजमार्ग र अन्य भित्री सडकहरू पनि बस्ती भन्दा अग्ला बन्दै गए जसले गर्दा सडक माथिबाट बग्ने पानीको निकास थुनिएर पानी बस्तीभित्र पसेको हो,’ उनले भने।

डुबानले बस्ती, खेत र भित्री सडकहरू जलमग्न बनेको छ। भित्री सडकमा तिन फिटसम्म पानी जमेको पराजुलीले जानकारी दिए। समयमा पर्याप्त पानी नपरेपछि मोटरबाट पानी तानेर रोपेको धान खेत समेत डुबानले क्षति पु¥याएको पराजुलीले बताए।

ताजा अपडेट

खोजी गर्नुहोस