
वीरगञ्ज,२६ असार। वीरगञ्ज महानगरपालिका–१०, आदर्शनगरस्थित होटेल दियालोको स्विमिङ पुलमा बुधवार एक दुखद घटनामा ९ वर्षीय बालक बजरंगी रौनियारको डुबेर मृत्यु भएको छ ।
वीरगञ्ज–११ निवासी प्रमोद रौनियारका छोरा बजरंगी नेपाल स्विमिङ एसोसिएसन पर्साले आयोजना गरेको १० दिने स्विमिङ प्रशिक्षणमा सहभागी थिए ।
बुधवार साँझ स्विमिङ प्रशिक्षणका क्रममा बजरंगी अचानक डुबे र अचेत भएपछि उनलाई तत्काल नारायणी अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
मृतकका बुबा प्रमोद रौनियारका अनुसार, उनी कार्यालयको कामले पोखरामा थिए । प्रशिक्षक असेसर पटेल र उनकी छोरीले सञ्चालन गरेको उक्त प्रशिक्षणमा बजरंगीलाई प्रशिक्षकले नै होटेल पुर्याएका थिए । प्रमोदले राति ८ बजे छोराको मृत्युको खबर पाएको जानकारी दिए ।
बजरंगीका काका विकास रौनियारले प्रशिक्षकको लापरबाहीले भतिजाको ज्यान गएको आरोप लगाए । “प्रशिक्षणको समयमा बच्चा डुब्दा प्रशिक्षक कहाँ थिए? यस्तो गम्भीर लापरबाहीले हाम्रो परिवारमा ठूलो क्षति भयो। दोषीमाथि कडा कारबाही हुनुपर्छ,” उनले आक्रोश व्यक्त गरे ।
विकासका अनुसार, होटेलका कर्मचारीले बालकलाई साँझ ७ बजे नारायणी अस्पतालमा छोडेर बिना जानकारी भागेका थिए । प्रहरीमार्फत साँझ ७ बजे मृत्युको खबर प्राप्त भएको उनले बताए ।
प्रशिक्षक असेसर पटेलले भने आफ्नी छोरीले प्रशिक्षण दिइरहेको र घटनाबारे आफूलाई स्पष्ट जानकारी नभएको दाबी गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी किशोर लम्सालले घटनालाई शङ्कास्पद मानेर अनुसन्धान सुरु गरिएको बताए । “बालक स्विमिङ पुलमा डुबेर अचेत भए र अस्पताल पुर्याउँदा उनको मृत्यु भएको पुष्टि भयो,” उनले भने ।
बालकको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ।यो घटनाले स्विमिङ प्रशिक्षणमा सुरक्षा मापदण्ड र प्रशिक्षकको जिम्मेवारीमाथि गम्भीर प्रश्न उठाएको छ ।
