अफगानिस्तानको हेलमन्ड प्रान्तमा, एक ६ वर्षीया बालिकाको विवाह ४५ वर्षीय पुरुषसँग गरिएको घटना बाहिर आएको छ । स्थानीय मिडिया अनुसार, विवाहको तस्वीरहरू सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उक्त घटना बाहिरिएको हो।
घटना बाहिरिएपछि तालिबान अधिकारीहरू आफैँ पनि चकित परेका थिए। घटनापछि ती बालिकालाई ससुराली पठाउने प्रक्रिया रोकिएको छ। यद्यपि, अधिकारीहरूले बालिका ९ वर्ष पुगेपछि पतिको घर पठाउन सकिने बताएका छन्।
विवाह हेलमन्डको मार्जा जिल्लामा भएको हो। बेहुलाले बालिकाको परिवारलाई रकम दिएर विवाह तय गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। घटनापछि प्रहरीले बालिकाका बुवा र बेहुलालाई नियन्त्रणमा लिए पनि हालसम्म उनीहरूमाथि आपराधिक मुद्दा दर्ता गरिएको छैन।
सन् २०२१ मा तालिबान पुनः सत्तामा आएपछि बालविवाहका घटना तीव्र गतिमा बढेका छन्। महिलामाथि शिक्षा र रोजगारीमा गरिएको प्रतिबन्धका कारण धेरै परिवारले आफ्नी छोरीलाई आर्थिक बोझका रूपमा हेर्दै कम उमेरमै विवाह गराइरहेका छन्।
संयुक्त राष्ट्रसंघीय निकाय यूएन वुमनको रिपोर्ट अनुसार, तालिबान शासनकालमा बालविवाहमा २५ प्रतिशत र किशोरी गर्भधारणमा ४५ प्रतिशत वृद्धि भएको छ।
अफगान समाजमा अझै पनि बाल्यकालमा नातेदारसँग विवाह गर्ने चलन विद्यमान छ। कतिपय अवस्थामा ‘भल्वर’ अर्थात् दाइजोको रूपमा रकम लिएर केटीको विवाह गरिन्छ, जसको मूल्यांकन उनको सौन्दर्य, स्वास्थ्य र शिक्षा स्तरका आधारमा हुने गरेको छ।
‘द अफगान टाइम्स’ सँगको कुराकानीमा उरुज्गान प्रान्तकी एक महिलाले घरमा खाद्यान्न नहुँदा १४ वर्षीया छोरीको विवाह २७ वर्षीय पुरुषसँग ३ लाख अफगानीमा गराएको स्वीकारेकी छन्।


