खानेपानी सिफारिसको नाममा वीरगञ्ज वडा कार्यालयको मनपरी असुली

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ अषाढ २७, शुक्रबार (७ महिना अघि)
  • ३ पटक पढिएको
खानेपानी सिफारिसको नाममा वीरगञ्ज वडा कार्यालयको मनपरी असुली

वीरगञ्ज,२७ असार। खानेपानीको चरम अभावले आक्रान्त वीरगञ्ज महानगरपालिकाका बासिन्दाहरूले स्थानीय वडा कार्यालयहरूबाट सिफारिसका नाममा मनपरी शुल्क असुली भएको गम्भीर गुनासो गरेका छन् ।

खानेपानी संस्थानको नयाँ धारा जडानका लागि आवश्यक सिफारिस लिन जाँदा विभिन्न वडाहरूले एक हजार पाँच सयदेखि तिन हजार रुपैयाँसम्म शुल्क लिने गरेको सेवाग्राहीहरूले बताएका छन् ।

पारदर्शितामाथि प्रश्न उठाउँदै कतिपय वडाले शुल्क लिएर पनि रसिद नदिने गरेको आरोप समेत लागेको छ ।

स्थानीय बासिन्दा जय साहले खानेपानीको धारा जडानका लागि खानेपानी संस्थानलाई मात्र ६ हजार ३ सय तिर्नुपर्ने बताए । यसबाहेक पाइप, ट्यापलगायतका सामग्रीमा १५ देखि २० हजार रुपैयाँसम्म खर्च हुने उनको भनाइ छ । “यस्तो अवस्थामा वडा कार्यालयले सिफारिसका लागि थप दुईदेखि तिन हजार रुपैयाँसम्म लिँदा विपन्न परिवारलाई ठूलो आर्थिक बोझ पर्छ,” उनले भने ।

साहले सिफारिस निःशुल्क हुनुपर्ने माग गरेका छन् । “धनीहरूले २०–३० हजार खर्च गर्न सक्लान्, तर गरिब परिवारका लागि यो रकम असह्य हुन्छ,” उनले थपे । 

त्यस्तै अर्का स्थानीय राधेश्याम पटेलले खानेपानी संस्थानलाई शुल्क तिरेर सेवा लिँदा वडा कार्यालयले थप शुल्क लिनु अनुचित भएको बताए । “विपद् र सङ्कटको समयमा महानगर र वडा कार्यालयले सहयोग गर्नुपर्नेमा उल्टै अवैध असुली गर्नु गलत हो,” उनले भने । उनले खानेपानी जस्तो आधारभूत आवश्यकताको पहुँचलाई सहज बनाउन महानगरपालिकाले तत्काल कदम चाल्नुपर्ने माग गरे । 

सिफारिसको नाममा वडा कार्यालयले अनुचित शुल्क लिएको विषयमा बुझ्न वीरगञ्ज–११ का वडाध्यक्ष अजय चौरसियालाई सम्पर्क गर्दा उनको फोन नउठेका कारण कुनै प्रतिक्रिया प्राप्त हुन सकिएन । वडा कार्यालयहरूले सिफारिस शुल्कको औचित्य र रसिद नदिने प्रवृत्तिबारे स्पष्ट जवाफ दिन नसक्दा सेवाग्राहीहरूको असन्तुष्टि बढ्दो छ ।

वीरगञ्जमा खानेपानीको चरम अभावले स्थानीय बासिन्दा त्राहिमाम् छन् । यस्तो अवस्थामा धारा जडानका लागि आवश्यक सिफारिस प्रक्रिया र अतिरिक्त शुल्कले उनीहरूको पीडा थपिएको छ । खानेपानीको पहुँच सहज बनाउन प्रक्रियालाई सरल र निःशुल्क गर्नुपर्ने माग स्थानीयहरूले उठाएका छन् ।

स्थानीयहरूले खानेपानी मन्त्री प्रदीप यादव र वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले समस्याको समाधानमा तत्काल पहल गर्नुपर्ने बताएका छन् । खानेपानी जस्तो आधारभूत सेवालाई सहज र सर्वसुलभ बनाउन सिफारिस प्रक्रियालाई निःशुल्क र पारदर्शी बनाउनुपर्ने उनीहरूको जोड छ । साथै, महानगरले वडास्तरीय शुल्क असुलीको अनुगमन गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग पनि उठेको छ ।

खानेपानी सङ्कटले थलिएको वीरगञ्जमा सिफारिस शुल्कको मारले स्थानीयको दैनिकी झनै कठिन बनेको छ । महानगरपालिका र सम्बन्धित निकायले यस विषयमा तत्काल ध्यान दिई सिफारिस प्रक्रियालाई निःशुल्क र सहज बनाउनु आवश्यक छ । साथै, शुल्क असुलीमा पारदर्शिता कायम गर्न र रसिद अनिवार्य गर्ने व्यवस्था लागू गर्नुपर्ने देखिन्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस