महाराष्ट्र, २८ असार। महाराष्ट्रको ठाणे जिल्लामा एक विद्यालयका प्रधानाध्यापक र एक महिला कर्मचारीलाई छात्राहरूको महिनावारी जाँच गर्न उनीहरूको कपडा फुकाल्न लगाएको आरोपमा पक्राउ गरिएको छ। विद्यालयको शौचालयमा रगतका दागहरू भेटिएपछि यस्तो अमानवीय कार्य गरिएको बताइएको छ।
यो घटना जुलाई ८, २०२५ मा ठाणे जिल्लाको शाहपुर तहसीलमा रहेको एक अङ्ग्रेजी माध्यम विद्यालयमा भएको थियो। विद्यालयमा नर्सरीदेखि कक्षा १० सम्म करिब ६०० बालिकाहरू अध्ययनरत छन्।
प्रहरीका अनुसार, जुलाई ८ को बिहान १० बजेदेखि १२ बजेसम्म प्रधानाध्यापकले विद्यालयका करिब १२५ जना छात्राहरूलाई हलमा बोलाएका थिए। त्यसपछि, प्रोजेक्टरमा विद्यालयको बाथरुमको भित्ता र भुईँमा देखिएका रगतका दागहरूको तस्बिर देखाइयो र विद्यार्थीहरूलाई उनीहरूको महिनावारी भएको छ वा छैन भनेर सोधियो। साथै, भित्तामा रगत कसरी आयो भनी प्रश्न गरियो।
त्यसपछि, केही शिक्षकहरूलाई महिनावारी भएका केटीहरूको हत्केलाको छाप लिन भनियो। महिला कर्मचारीहरूलाई महिनावारी नभएका केटीहरूलाई बाथरुममा लगेर उनीहरूको जाँच गर्न कपडा खोल्न भनिएको उजुरीमा उल्लेख छ ।
यो घटनाबाट स्तब्ध भएका १० देखि १५ जना बालिकाहरूमध्ये एककी आमाले उजुरी दिएपछि प्रहरीले कारबाही अघि बढाएको हो। यो घटना मङ्गलवार भएको थियो भने बुधबार अभिभावकहरूले विद्यालयमा भेला भई विरोध प्रदर्शन गर्दै जिम्मेवार व्यक्तिहरूमाथि कडा कारबाहीको माग गरेका थिए।
अभिभावकहरूको दबाबपछि प्रहरीले प्रधानाध्यापक र एक महिला कर्मचारीलाई पक्राउ गरेको छ। उनीहरूविरुद्ध बाल यौन दुर्व्यवहारबाट संरक्षण ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको छ। यसबाहेक, प्रहरीले महिलाको मर्यादाको अपमान गर्ने र आक्रमण गर्ने सम्बन्धी कानुनका धाराहरू पनि लगाएको छ।


