रौतहट, २८ असार। आफ्नै छोरीलाई प्रयोग गरेर छिमेकीलाई फसाउने उद्देश्यले झुटा आरोपसहित अपहरण, शरीर बन्धक र चेलिबेटी बेचविखन मुद्दा दर्ता गराउन खोज्ने एक महिलालाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।
माधवनारायण नगरपालिका–५ मिठुअवाको कटहरिया टोल निवासी ४१ वर्षीया प्रमिला देवी सहनीले छिमेकीविरुद्ध कृतिम जाहेरी दर्ता गराउन खोजेकी थिइन्। अनुसन्धानका क्रममा ती सबै आरोप काल्पनिक रहेको पुष्टि भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिई अभद्र व्यवहारसम्बन्धी मुद्दा चलाएको हो।
पीडितका परिवारका अनुसार प्रमिला देवीले वडा अध्यक्ष नरेन्द्र सहनीको उस्काहटमा आएर रामजी सहनीकी श्रीमती सुनिता देवी सहनीविरुद्ध षड्यन्त्रपूर्वक फसाउने नियतले छोरीलाई माध्यम बनाएकी थिइन्। उनले सुनिता देवीलाई घरमै गएर धम्की दिने, गालीगलौज गर्ने र सामाजिक प्रतिष्ठामा आँच पुर्याउने व्यवहार गरेकी थिइन्।
जिल्ला प्रहरी कार्यालय, रौतहटले प्रमिलालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। प्रहरीले शुक्रबार जिल्ला प्रशासन कार्यालयबाट ५ दिनको म्याद लिएर अभद्र कसुर अन्तर्गत मुद्दा दर्ता गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।
जाहेरीकर्ता मदन साह (रामप्रताप साह) ले राज्यले निर्दिष्ट गरेका कानुनी दफाबमोजिम प्रमिलाविरुद्ध कडा कारबाही गर्न माग गरेका छन्।


