
लुइसियाना, ३१ असार। अमेरिकामा कार दुर्घटनामा परेर दुई जना नेपाली विद्यार्थीको मृत्यु भएको छ । दुर्घटनामा लुइसियाना टेक विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरू २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको मृत्यु भएको हो । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।
भारी वर्षाका कारण कार दुर्घटनामा परेको र उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरीले लुइसियाना प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् । घटनाबारे लुइसियाना राज्य प्रहरीले अनुसन्धान गरिरहेको छ । कार दुर्घटना १३ जुलाईको राति ९ बजेतिर भएको थियो ।
लुइसियाना राज्य प्रहरीका अनुसार, होन्डा एकर्ड कार यादवले चलाएका थिए । उक्त कारमा यादवसहित चार जना सवार थिए । गाडी सडकभन्दा बाहिर पुगेर रूखमा ठोकिँदा दुर्घटना भएको प्रहरीको भनाइ छ । कारमा सवार अन्य दुई जनालाई भने उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।
यसैबिच, लुइसियाना टेक विश्वविद्यालयले दुई विद्यार्थीको मृत्युको घटनाबारे दुःख व्यक्त गरेको छ ।
