
वीरगञ्ज, ३ श्रावन। जिल्ला प्रहरी कार्यालय बाराले १० किलो ७ सय ७८ ग्राम लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जिल्लाको सिम्रौनगढ नगरपालिका–७, मलाही टोलका ३४ वर्षीय धर्मेन्द्र सहनी मलाहा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाराले जारी गरेको प्रेस विज्ञप्तिअनुसार साउन २ गते (शुक्रवार) प्रहरी चौकी पथलैयाबाट प्रहरी नायब निरीक्षक बब्बी बम्जनको कमान्डमा खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उपमहानगरपालिका–१, पथलैया चोकमा चेकजाँच गर्ने क्रममा नारायणघाटबाट वीरगन्जतर्फ जाँदै गरेको ना.८ ख ७३४६ नम्बरको यात्रुवाहक बसमा सवार सहनीलाई पक्राउ गरेको हो ।
प्रहरीले बसमा सवार सहनीले बोकेको कालो झोलामा शङ्का लागेर जाँच गर्दा उक्त झोलाभित्र लुकाइएको १० किलो ७७८ ग्राम गाँजा फेला परेको थियो । प्रहरीले गाँजासहित सहनीलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।
