काठमाडौं, ४ श्रावन। लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ परेका छन् । काठमाडौँ, बर्दिया, मकवानपुर लगायतका जिल्लाबाट १९ जना पक्राउ परेका हुन् ।
काठमाडौँको नागार्जुन नगरपालिका–५ स्थित हलचोक चौताराबाट गाँजाजस्तो देखिने पदार्थ ८ किलो ५ सय ग्राम, पोलेन जस्तो देखिने पदार्थ १ किलोग्राम र नगद १६ हजार ५ सय रुपैयाँसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने धादिङ गजुरी गाउँपालिका–८ घर भएकी ३८ वर्षीया चमेली ग्याल्वा तामाङ र काठमाडौँ महानगरपालिका–१५ स्वयम्भू डेरा गरी बस्ने काभ्रे पनौती नगरपालिका–७ घर भएकी १९ वर्षीया बिनिता पुरी रहेका छन् ।
स्वयम्भूबाट खटिएको प्रहरीले चमेलीको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
त्यस्तै बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ १ ग्राम ४ सय मिलिग्राम सहित बाँके बैजनाथ गाउँपालिका–५ बस्ने १९ वर्षीय गौरव थारुलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी बर्दियाको गुलरिया नगरपालिका–७ बदालपुरबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ १ ग्राम २ सय ८० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३१ वर्षीय अशोककुमार यादव र सोही नगरपालिका–४ खैरी बस्ने ४३ वर्षीय रामप्रसाद रैदास रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
त्यस्तै मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४ मेनरोडबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ करिब १ ग्राम २ सय ८० मिलिग्राम सहित सोही उपमहानगरपालिका–१० बस्ने सप्तरी राजगढ गाउँपालिका–२ घर भएका ३६ वर्षीय अजय सिंह समेत २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मकवानपुरकै बागमती गाउँपालिका–६ फापरबारीबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ५ सय ८० मिलिग्रामसहित सोही ठाउँ बस्ने रौतहट गौर नगरपालिका–१३ सिर्सिया घर भएका ३१ वर्षीय अमित साहलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
उता सुनसरीको धरान उपमहानगरपालिका–१३ निसाने डाँडाबाट करिब ४ किलोग्राम गाँजासहित धनकुटा साँगुरीगढी गाउँपालिका–४ बस्ने ३२ वर्षीय मनोज राईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको प्र–१–०२–००१ ख ९५२० नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी सुनसरीको इनरुवा नगरपालिका–६ हलेसी चोकबा खैरो हेरोइनजस्तो देखिने पदार्थ ४१ ग्राम ४ सय ४० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ३ हजार ५ सय ५० ट्याब्लेट र स्पास्मो प्रोक्सिभन १ सय ४४ ट्याब्लेट सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा इनरुवा नगरपालिक–८ बस्ने ३४ वर्षीय मोहमद सफरूल र कोशी गाउँपालिका–५ बस्ने ४८ वर्षीय अशोक कुमार यादव रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरी र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
साथै प्रहरीले उनीहरूले प्रयोग गरेको को।३३ प ३१४९ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । यसैगरी सुनसरीको धरान उपमहानगरपालिका–१५ बाट ट्रामाडोल ४ सय ६० ट्याब्लेट सहित सोही उपमहागनरपालिका–१५ एभरेष्ट लाईन बस्ने २१ वर्षीय विश्व लिम्बुलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
उता बाँकेको नेपालगंज उपमहानगरपालिका–१४ उदयपुरबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ १६ ग्राम ५ सय ३० मिलिग्रामसहित सोही ठाउँ बस्ने २३ वर्षीय अजयकुमार खटिकलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगंज र वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
त्यस्तै कैलालीको कैलारी गाउँपालिका–१ हसुलिया बजारबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ करिब १७ ग्राम ४ सय ६० मिलिग्राम सहित भारत लखिमपुर चन्दनचौकी घर भएका २३ वर्षीय अन्सु गुप्तालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
त्यस्तै बझाङको जयपृथ्वी नगरपालिका–१० चैनपुरबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ १ सय मिलिग्राम र चरेस जस्तो देखिने पदार्थ ४ सय ७० मिलिग्राम सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २४
वर्षीय सन्दिप बोहरा र सूर्मा गाउँपालिका–२ बस्ने २८ वर्षीय सागर बोहरा रहेका छन् । जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले सन्दिपको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । उता रुपन्देहीको सैनामैना नगरपालिका–८ बाँसगढीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ६ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय जगदिश थापा मगरलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको १ थान मोटरसाइकल समेत बरामद गरेको छ ।
त्यस्तै सप्तरीको सुरूङ्गा नगरपालिका–४ बलान पुल नजिकबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–३ बस्ने २६ वर्षीय किरण श्रेष्ठ र कञ्चनपुर घर भएका ३० वर्षीय दिवस पाण्डे रहेका छन् ।
इलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको २ थान मोटरसाइकल समेत बरामद गरेको छ । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।


