साउदी, ४ श्रावन। साउदीका राजकुमार अल वालिद बिन खालिद बिन तलाल अल सउदको निधन भएको छ । २० वर्षदेखि कोमामा रहेका राजकुमार वालिदको शनिवार ३६ वर्षको उमेरमा निधन भएको हो ।
उनी १५ वर्ष छँदा सन् २००५ मा लन्डनमा सैनिक तालिम लिँदै गरेका बेला कार दुर्घटनामा परी गम्भीर घाइते भएका थिए । उनको मस्तिष्कमा गहिरो चोट र आन्तरिक रक्तस्राव भएको थियो । त्यसपछि उनी कहिल्यै पूर्ण रूपमा होसमा फर्कन सकेनन् भनेर गल्फ न्युजले लेखेको छ ।
उनलाई अमेरिकी र स्पेनी चिकित्सकहरूको विशेष निगरानीमा राखिएको थियो । कतिपय समय उनका शरीरमा हुने स-साना अनियन्त्रित गतिविधिहरूले परिवारमा आशा जगाए । उनका परिवारले राजकुमारलाई निगरानीमै राखिएको कक्षमा पुगेर कुरान सुनाउँथे ।
त्यतिबेला शरीरका केही अङ्गहरू चलेकोजस्तो देखिने भिडिओहरू पनि सार्वजनिक भएको गल्फ न्युजले जनाएको छ । उनका पिता खालिद विन तलाल कुनै न कुनै समय ईश्वरीय चमत्कार हुने र आफ्नो छोरा ठिक हुने डाक्टरहरूलाई बताउने गर्थे ।
शनिवार उनको निधन भएपछि धेरै मानिसहरूले सामाजिक सञ्जालमार्फत उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । राजकुमार वालिद ‘स्लिपिङ प्रिन्स’ नामले चिनिन्थे ।
दुर्घटनापछि लामो समयदेखि होसमा नआएका कारण उनलाई ‘स्लिपिङ प्रिन्स’ उपनाम दिइएको थियो ।


