
सप्तरी, ५ श्रावन। सप्तरीको राजविराज नगरपालिका–७ स्थित मुख्य बजारमा टहराबाट लागूऔषध बिक्री गरिरहेका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ५३ वर्षीय नारायणबहादुर कार्की रहेका छन् ।
राज रंगशालामा पूर्वतर्फ दर्शकलाई बस्नका लागि बनाइएको भर्याङमुनि जस्ताले छाएको टहराबाट बस्दै आएका कार्कीले त्यहीँबाट लागूऔषध बिक्री गरिरहेको भनि सूचनाका आधारमा खटिएको प्रहरीले लागूऔषध र नगदसहित उनलाई पक्राउ गरेको हो ।
टहरामा राखिएको झोलाबाट स्पास्म प्रोसिभोन प्लस तीन सय ८२ क्याप्सुल, नाइट्राजेपाम आइपी एक सय ४९ र नाइट्राभेट एक सय ५४ क्याप्सुल बरामद भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।
उनकाअनुसार टहराबाटै ७९ वटा पोका बनाइएको तीन सय ११ ग्राम गाँजा पनि बरामद भएको हो । टहराको ओछ्यान मुनिबाट दुई लाख ५० हजार ५ सय १० रुपैयाँ नेपाली र ६ हजार ३ सय ३० भारतीय रुपैयाँ नगद समेत बरामद भएको छ । पक्राउ परेका कार्कीमाथि लागूऔषध मुद्दामा म्याद थप लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
