काठमाडौं, ६ श्रावन। भारतका उपराष्ट्रपति जगदीप धनखडले स्वास्थ्यलाई कारण देखाउँदै सोमबार आकस्मिक रूपमा पदबाट राजीनामा दिएका छन्। राष्ट्रपति द्रौपदी मुर्मुलाई बुझाइएको राजीनामा पत्रमा उनले अब आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिने उल्लेख गरेका छन्। उनले संविधानको धारा ६७(क) अनुसार पद त्याग गरेको जानकारी गराएका छन्।
७४ वर्षीय धनखड सन् २०२२ को अगस्टमा उपराष्ट्रपतिको रूपमा निर्वाचित भएका थिए। पाँचवर्षे कार्यकालअनुसार उनी सन् २०२७ सम्म पदमा रहने थिए। तर कार्यकालको आधामै अचानक राजीनामा दिएपछि भारतीय राजनीतिमा यो विषयले नयाँ बहस जन्माएको छ।
धनखडको राजीनामा पछाडि औपचारिक रूपमा स्वास्थ्यको कारण उल्लेख गरिएको भए पनि केही मिडिया रिपोर्टहरूमा प्रधानमन्त्री नरेन्द्र मोदी र सत्तारूढ भारतीय जनता पार्टीका शिर्ष नेताहरूसँग असहमति चुलिँदै गएपछि उनले राजीनामा दिएको दाबी गरिएको छ। यद्यपि, यस विषयमा कुनै आधिकारिक पुष्टिको अभाव छ।
उपराष्ट्रपतिको पद रिक्त भएपछि भारतीय संविधानअनुसार निर्वाचन प्रक्रिया सुरु हुने भएको छ। संविधानको धारा ६८(२) अनुसार, उपराष्ट्रपतिको राजीनामा, मृत्यु वा अन्य कारणले पद खाली भएमा सकेसम्म चाँडो निर्वाचन गर्नुपर्ने प्रावधान छ। निर्वाचन आयोगले अब नयाँ निर्वाचनको मिति तोक्नेछ।
भारतको उपराष्ट्रपति संसदको दुवै सदन (लोकसभा र राज्यसभा) का सदस्यहरूले निर्वाचित गर्छन्। निर्वाचन समानुपातिक प्रतिनिधित्व प्रणालीअन्तर्गत एकल संक्रमणीय मत पद्धतिबाट हुन्छ। उम्मेदवार भारतको नागरिक, ३५ वर्ष उमेर पुगेको र राज्यसभाको सदस्य बन्ने योग्यता भएको हुनुपर्नेछ। लाभको पदमा रहेका व्यक्तिहरूले उम्मेदवारी दिन सक्दैनन्।
उपराष्ट्रपति राज्यसभाका पदेन अध्यक्ष हुन्छन्। राष्ट्रपतिको अनुपस्थितिमा वा राष्ट्रपतिको असमर्थताका अवस्थामा उपराष्ट्रपतिले राष्ट्रपतिको जिम्मेवारी समेत सम्हाल्ने संवैधानिक व्यवस्था रहेको छ। नयाँ उपराष्ट्रपतिको चयन नभएसम्म हाल राजीनामा दिएका उपराष्ट्रपति कायम रहने वा वैकल्पिक रूपमा कार्यसम्पादन कसले गर्ने भन्ने विषयमा संविधानले स्पष्ट व्यवस्था गरेको छ।
राज्यसभाको उपाध्यक्ष वा राष्ट्रपति द्वारा तोकिएको सदस्यले अस्थायी रूपमा सो जिम्मेवारी सम्हाल्ने प्रावधान छ। धनखडको राजीनामासँगै भारतमा नयाँ उपराष्ट्रपतिको खोजी सुरु भएको छ। निर्वाचन आयोगले चाँडै प्रक्रिया अघि बढाउने अनुमान गरिएको छ। यो राजीनामाले भारतीय राजनीतिमा गम्भीर तरंग ल्याएको छ।

