सर्लाही,६ श्रवाण। भ्रष्टाचारजन्य कसुरमा सर्वोच्च अदालतले दोषी ठहर गरिसकेको नेपाली काँग्रेस सर्लाहीका जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंहलाई पार्टीले सम्मानित गरेको छ ।
सिंहलाई पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सानेपास्थित पार्टी कार्यालयमा सिंहलाई सम्मानित गरेका हुन् ।
पार्टीको आधुनिक पुस्तकालय तथा स्रोत केन्द्रका लागि पुस्तक प्रदान गरेकोमा प्रति आभार प्रकट गर्न सिंहलाई पार्टी सभापति देउवाले सम्मानित गरेको गरेका छन् ।
सिंहलाई सर्लाहीको तत्कालीन मनुस्मारा सिँचाइ आयोजना प्रथम चरणको जल उपभोक्ता समितिको अध्यक्ष रहँदा आर्थिक अनियमितता गरेको अभियोगमा विशेष अदालतले दोषी ठहर गरेको थियो ।
विशेषको आदेशविरुद्ध सर्वोच्च गएका सिंहको अपिललाई खारेज गर्दै सर्वोच्च अदालतले गत फागुन १५ गते विशेष अदालतको फैसला सदर गर्दै सिंहलाई चार महिना १५ दिन कैद र १ करोड २३ लाख रुपैयाँ बिगो तिराउने निर्णय गरेको थियो ।
नेपाली काँग्रेसको विधानको धारा १३ (ङ) मा नैतिक पतन देखिने फौजदारी अभियोगमा अन्तिम अदालतबाट दोषी ठहर भएका व्यक्तिको पार्टी सदस्यता स्वतः समाप्त हुने व्यवस्था छ । तथापि, सिंह अझै पनि सर्लाहीको जिल्ला सभापति कायम छन् ।
सम्मानले नेपाली काँग्रेसको अनुशासन र आन्तरिक लोकतन्त्रमा गम्भीर प्रश्न उठाएको छ । सर्लाहीका काँग्रेस कार्यकर्ताहरूले सर्वोच्चको फैसलापछि नयाँ जिल्ला सभापति चयनको माग गर्दै केन्द्रीय नेतृत्वलाई बारम्बार ध्यानाकर्षण गराएका छन् । उनीहरूले सानेपास्थित पार्टी कार्यालय अगाडि धर्नासमेत दिएका थिए तर पार्टी नेतृत्वले कुनै सुनुवाइ नगरेको कार्यकर्ताहरूको गुनासो छ ।
पार्टीका कार्यकर्ताहरूले काँग्रेसको कदमले लोकतन्त्र र नैतिकताप्रतिको उसको प्रतिबद्धतामाथि प्रश्न उठाएको बताएका छन् । “पार्टीले भ्रष्टाचारमा दोषी ठहरिएका व्यक्तिलाई संरक्षण र सम्मान गरेर आफ्नो आदर्श र निष्ठालाई हात्तीको देखाउने दाँत बनाएको छ,” नाम नखुलाउने सर्तमा एक कार्यकर्ताले भने । घटनाले नेपाली काँग्रेस गम्भीर नैतिक सङ्कटमा फसेको स्पष्ट भएको छ । पार्टीको कार्यशैलीले विधि र पद्धतिलाई भन्दा शक्तिको छाहरीमा जोड दिएको सन्देश प्रवाह भएको छ ।


