सर्लाही, ७ श्रावन। सर्लाहीको कबिलासी नगरपालिकास्थित सामाजिक सुरक्षा शाखा कार्यालयमा भएको चोरी प्रकरणमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। गत साउन ४ गते राति कार्यालयभित्र पसेर सरकारी सम्पत्ति चोरी भएको थियो।
रातिको समयमा कार्यालयमा पसेका चोरहरूले एचपीको सिपियु, डेलको मोनिटर, भिउजेजको किबोर्ड, घुम्ने कुर्सी, वाईफाई राउटर, मल्टिप्लग र क्यानोन कम्पनीको प्रिन्टरसहितका सामग्री चोरी गरेका थिए।
भोलिपल्ट बिहान चोरी भएको थाहा पाएपछि प्रहरी चौकी कबिलासीलाई खबर गरिएको थियो। त्यसलगत्तै इलाका प्रहरी कार्यालय हरिपुरको टोली घटनास्थल पुगेको थियो। अनुसन्धानका क्रममा कार्यालय नजिकैको नालामा फुटेको अवस्थामा कालो प्रिन्टर फेला परेको थियो, जसको मोडल Cannon Image CLASS MF3010 थियो।
सिसिटिभी फुटेज र प्रविधिक सहायताबाट अनुसन्धान अगाडि बढाउँदै प्रहरीले कबिलासी–८ का २२ वर्षीय रोहित मिश्र, ४० वर्षीय सुरेन्द्र राय, २० वर्षीय राजु पासवान, २२ वर्षीय ललका पासवान र १९ वर्षीय दिपक पासवानलाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार मुख्य अभियुक्त रोहित मिश्रको घरबाट अधिकांश चोरी गरिएका सामग्रीहरू सिपियु, मोनिटर, किबोर्ड, कुर्सि, राउटर तथा मल्टीप्लग बरामद गरिएको छ। पक्राउ परेकाहरूमाथि जिल्ला अदालत सर्लाहीबाट पाँच दिनको म्याद थप गरी चोरीसम्बन्धी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय हरिपुरले जानकारी दिएको छ।

