सर्लाही, ७ श्रावन। सर्लाहीको लालबन्दी नगरपालिका–१ लच्का स्थित पूर्व–पश्चिम राजमार्गमा आइतवार बिहान एक ट्याङ्कर र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ।
दुर्घटनामा हरिवन नगरपालिका–४ सासापुर निवासी ३१ वर्षीय रामबहादुर स्याङतान गम्भीर घाइते भएका थिए। लालबन्दीबाट नवलपुरतर्फ जाँदै गरेको को १ ख ५९३८ नम्बरको तेल बोक्ने खाली ट्याङ्कर र विपरीत दिशाबाट आउँदै गरेको बा ८७ प १३७० नम्बरको मोटरसाइकल बीच लच्कामा ठोक्किएको थियो।
घाइते स्याङतानलाई तत्कालै लालबन्दी मोडेल अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि मलंगवास्थित प्रादेशिक अस्पताल पुर्याइएको थियो। तर, चिकित्सकहरूले अस्पताल पुर्याउने बित्तिकै उनलाई मृत घोषणा गरेका थिए।
दुर्घटनापछि प्रहरीले ट्याङ्कर र मोटरसाइकल दुवै नियन्त्रणमा लिएको छ। ट्याङ्कर चालक सुनसरीको रामधुनी नगरपालिका – ९ निवासी ३२ वर्षीय अरबिन्द महतोसमेत प्रहरी नियन्त्रणमा रहेका छन्।
पोस्टमार्टमपछि मृतकको शव परिवारलाई बुझाइएको छ। शव उनका बुबा जितबहादुर स्याङतानलाई बेलुका ७ बजे हस्तान्तरण गरिएको थियो। यस घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।


