रौतहट, ७ श्रावन। रौतहट प्रहरीले एक वर्षमै करोडौँको अवैध सामान नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा साढे पाँच करोड रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय र मातहतका इकाईहरूले भारत–नेपाल सीमावर्ती नाकाबाट हुने तस्करीमा सक्रिय सञ्जाललाई निस्तेज पार्दै ठूलो परिणाममा अवैध वस्तुहरू बरामद गरेका हुन्।
जिल्ला प्रहरी प्रमुख एसपी नेत्रमणि गिरीका अनुसार उक्त अवधिमा ५ करोड ५९ लाख ५५ हजार २३५ रुपैयाँ बराबरका सामानहरू बरामद गरिएको हो। बरामद सामग्रीहरू कानुनी प्रक्रिया पूरा गरी जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको उनले जानकारी दिए ।
यसैगरी तस्करीमा प्रयोग भएका ५ स्कार्पियो, ४ पिकअप, १ ट्याक्टर, १० ई–रिक्सा, २४३ मोटरसाइकल र ३३ साइकलसहित २९६ वटा सवारीसाधनसमेत प्रहरीले नियन्त्रणमा लिएको छ।
१०३ तस्कर पक्राउ, २२ जना विदेशी नागरिक प्रहरीले तस्करीमा संलग्न १०३ जनालाई पक्राउ गरेको छ, जसमा २२ जना विदेशी नागरिक रहेको प्रहरी तथ्याङ्कमा उल्लेख छ।
उनीहरूलाई आवश्यक अनुसन्धानपछि कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ। ६४० फरार प्रतिवादी पक्राउ साथै, अदालतबाट सजाय सुनाईसकेका ६४० जना फरार प्रतिवादीलाई पनि प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरी फैसला कार्यान्वयन गराएको छ।
जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायका अनुसार पक्राउ परेकाहरूबाट ४८ लाख २९ हजार ९८४ रुपैयाँ जरिवाना असुल गरिएको छ भने उनीहरूलाई ११४ वर्ष १ महिना २० दिनको कैद भुक्तानका लागि जिल्ला अदालत रौतहटमा उपस्थित गराइएको हो।
रौतहट प्रहरीले सीमा सुरक्षा, तस्करी नियन्त्रण तथा फरार प्रतिवादी पक्राउ अभियानलाई अझ सशक्त बनाउँदै लगिएको जनाएको छ।


