रौतहट, ७ श्रावन। जिल्लाको माधवनारायण नगरपालिका–४ स्थित बिसनपुरवा मानपुरमा सिँचाइका लागि मोटर जडान गर्ने क्रममा करेन्ट लाग्दा एक जना किसानको ज्यान गएको छ।
बुधबार बिहान करिब ७:४५ बजे खेतमा मोटर जडान गर्दै गर्दा करेन्ट लागेर स्थानीय तुलसी मुखियाका करिब ४० वर्षीय छोरा रामबाबु मुखिया गम्भीर घाइते भएका थिए। प्रारम्भिक अनुसन्धान अनुसार मोटरको तार सञ्चालन गर्ने क्रममा अचानक करेन्ट लागेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।
घटनापछि उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो। तर, उपचारकै क्रममा रामबाबुको मृत्यु भएको डिएसपी राजन कार्कीले जानकारी दिए।
घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यो घटनाले गाउँमा शोकको छायाँ छाएको छ। स्थानीयले सिँचाइका उपकरण जडान गर्दा सावधानी अपनाउनुपर्नेमा जोड दिनुपर्छ।


