सर्लाही, ०८ श्रावन। सर्लाहीमा सशस्त्र प्रहरीले ठुलो परिमाणमा तस्करीको कपडा र चुरोट बरामद गरेको छ। सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नम्बर १ स्थित चौलिखा बजारको एक गोदामबाट सशस्त्र प्रहरीले बुधबार राति लाखौँ मूल्य बराबरको करिब ३० पोका कपडा र चुरोट बरामद गरेको हो।
सशस्त्र प्रहरी १० नम्बर गण हेड क्वार्टर सर्लाहीका प्रमुख एसपी देवबहादुर चन्द र सर्लाहीको मलंगवा भन्सार कार्यालयका भन्सार अधिकृत डम्बरबहादुर बस्नेतको टोलीले गोदाममा छापा मारेर उक्त परिमाणमा बरामद गरेको कपडा र चुरोट भारतबाट तस्करी गरेर ल्याइएको हुन सक्ने अनुमान गरिएको छ।
सशस्त्र प्रहरी सर्लाहीका प्रमुख एसपी चन्दले २८/३० पोका कपडा र चुरोट बरामद भएको बताउँदै कपडा र चुरोटको मूल्य यकिन गर्ने काम हुन नसकेको बताए।
बरामद गरेको अवैध कपडा र चुरोटको मूल्य यकिन गर्ने र भन्सार दाखिला गर्ने काम हुने एसपी चन्दले जानकारी गराएका छन्। पछिल्लो पटक तस्करीको सामान समात्नमा एसपी चन्दले निकै सक्रियता देखाएका छन्। सर्लाहीको संग्रामपुर, पर्सा र नरायणपुर नाका हुँदै यति ठुलो मूल्य बराबरको तस्करीको कपडा र चुरोट भित्रिएको श्रोतबाट बुझिएको छ।


