वीरगञ्ज, ०८ श्रावन। नेपाल–भारत सीमामा मानव तस्करी नियन्त्रण गर्न सक्रिय भारतीय सीमा सुरक्षा बल (एसएसबी) को ह्यूमन ट्राफिकिङ टोली र जुभेनाइल एड सेन्टरको संयुक्त प्रयासमा एक नाबालिग किशोरीको उद्धार गरिएको छ ।
प्रेम र विवाहको झुटो प्रलोभनमा पारेर नेपाल ल्याइँदै गरिएको किशोरीको रक्सौल सीमा नजिकैबाट उद्धार गरिएको हो ।
किशोरीलाई प्रेम र विवाहको प्रलोभनमा पार्ने युवकलाई भने भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका युवकको पहिचान उत्तर प्रदेशको बलरामपुरका निवासी धीरेन्द्र आलमको रूपमा भएको छ ।
प्रहरीका अनुसार आलम धर्मान्तरणको मास्टरमाइन्ड भनिने छांगुर बाबाको गिरोहका सदस्य रहेको अनुसन्धानबाट खुलेको भारतीय सञ्चारमाध्यमहरूले दाबी गरेका छन् ।
एसएसबीको टोलीले रक्सौल सीमामा शङ्का लागेर दुवै जनालाई अलग–अलग गरी सोधपुछ गर्दा घटना सार्वजनिक भएको थियो । युवकले सामाजिक सञ्जालमार्फत फरक नामको प्रयोग गर्दै किशोरीसँग सम्पर्क बनाएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ । उनले सामाजिक सञ्जालबाट नै किशोरीलाई प्रलोभनमा पारेर नेपाल ल्याउन लागेका थिए ।
युवकविरुद्ध हरैया थानामा मानव तस्करी, जबरजस्ती धर्म परिवर्तन प्रयास र नाबालिग छलफलक सम्बन्धी धारामा मुद्दा दर्ता गरिएको छ । उद्धार गरिएकी किशोरीलाई आवश्यक संरक्षणका लागि संरक्षण गृहमा राखिएको भारतीय प्रहरीले जनाएको छ ।
सीमा क्षेत्रमा पछिल्लो समय यस्तो खालको गतिविधि बढ्दै गएको भन्दै सुरक्षाकर्मीहरूले उच्च सतर्कता अपनाइरहेका छन् । रक्सौल जस्ता खुला सीमाहरू मानव तस्करी तथा धर्मान्तरण जस्ता संवेदनशील गतिविधिका लागि प्रयोग हुनसक्ने भन्दै सम्बन्धित निकायहरूले कडा निगरानी र नियन्त्रण आवश्यक भएको बताएका छन् ।


