रमेश कुमार यादब
साउन ०८, रौतहट
रौतहट सहित मधेश प्रदेशमा दिनप्रतिदिन गहिरिंदै गएको पानीको संकट र त्यसले कृषिमा पारेको गम्भीर असरलाई मध्यनजर गर्दै बृन्दावन नगरपालिकाले एक उल्लेखनीय पहल गरेको छ । नगर प्रमुख विनोद प्रसाद कुर्मीको नेतृत्वमा बृन्दावन नगरपालिका–६, कमलपट्टीका किसानहरूको खेतमा पानी पु¥याउन नयाँ सिंचाइ कुलो (नहर) निर्माण गरिएको हो ।सिंचाइका लागि पानी उपलब्ध
गराउने मुख्य नहर रहे पनि खेतसम्म पानी पु¥याउने कुलोको अभावका कारण किसानहरू वर्षौंदेखि सास्ती खेप्दै आएका थिए । वर्षा नहुँदा खेत सुक्खा रहने, धान रोप्न नपाउने अवस्था सिर्जना हुँदै आएको थियो ।
विशेष गरी यस वर्षको असार महिनासम्म पनि पर्याप्त वर्षा नभएपछि मधेश प्रदेश सरकारले रौतहट सहितका जिल्लालाई ‘सुख्खाग्रस्त क्षेत्र’ घोषणा गरिसकेको छ । नगर प्रमुख कुर्मीले किसानहरूको पीडा बुझ्दै, कुनै पनि औपचारिकता झिकाउने कुचेष्टा नगरी स्वयम् डोजरसहित घटनास्थलमा पुगेर कुलो निर्माण कार्य प्रारम्भ गराएका हुन् । टन्टलापुर घाममा पसिना बगाउँदै, उनले किसानहरूसँग प्रत्यक्ष संवाद पनि गरेका थिए ।

उनले कुलो निर्माण कार्यको निगरानी गर्दै यथाशीघ्र सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका थिए । स्थानीय किसान रामकिसुन पासवानले भने, “हामी त यसपालि पनि धान रोप्न पाउँदैनौं कि भन्ने चिन्तामा थियौं । पानी नहुँदा बिउ राखेका थिएँ, तर खेतमै पानी नपुगेपछि त्यो पनि सुक्न थालेको थियो । अहिले नगर प्रमुख आफैं आएर कुलो खनाएर पानीको व्यवस्था गरेपछि ढुक्क भएको छु । ढिलो भए पनि अब रोपाईं गर्न सकिनेछ ।”
अन्य किसानहरू पनि नगर प्रमुखको यस्तो सक्रियता र सहानुभूतिपूर्ण व्यवहारबाट अत्यन्त उत्साहित देखिए । उनीहरूले नगर प्रमुखलाई धन्यवाद दिँदै भविष्यमा पनि यस्तै जनमुखी कार्यलाई निरन्तरता दिन अनुरोध गरेका छन् । नगर प्रमुख विनोद प्रसाद कुर्मीले भनेः “मधेश प्रदेशभर पानीको संकट छ । सरकारले सुक्खाग्रस्त घोषणा गरेपछि हामी झनै सजग भएका छौं । बृन्दावन नगरपालिकाका सबै वडामा म आफैं निरिक्षणमा निस्किएको छु ।
जहाँ जहाँ पानीको समस्या छ, त्यहाँ तत्काल समाधान गरिन्छ । यो कुलो निर्माण त एउटा सुरुवात मात्र हो । हाम्रा किसानले खेतमा पानी पाउनेछन्, धान उत्पादनमा बृद्धि हुनेछ ।नगर प्रमुख कुर्मिले भने कमलपटीमा बनाईएको कुलोबाट करिब सयभन्दा बढि किसान लाभान्वित हुने छ ।”उनको भनाइ अनुसार अब बृन्दावन नगरपालिकाले कृषि उत्पादन वृद्धि, पानी व्यवस्थापन, र दीर्घकालीन सिंचाइ समाधानतर्फ रणनीतिक योजना अघि सारेको छ । यस कार्यले स्थानीय सरकारको जनउत्तरदायिता र कार्यक्षमतामा विश्वास बढाएको छ भने कृषक समुदायमा पनि उत्साह थपिएको छ ।


