५० प्रतिशत अनुदानमा १४० भैँसीसहित आधुनिक उपकरण वितरण
पवन कुमार उपाध्याय
रौतहट,०९ रौतहट। रौतहटको गरुडा नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ अन्तर्गत सञ्चालन गरेको कृषि, पशु तथा डेरी यान्त्रीकरण कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।
नगरपालिकाको प्रमुख योजना अन्तर्गत सञ्चालित यस कार्यक्रमबाट नगर क्षेत्रका सयौं किसान लाभान्वित भएका छन्। कार्यक्रममार्फत वडा नं. १ देखि ९ सम्मका किसानहरूलाई ५० प्रतिशत अनुदानमा कुल १४० वटा भैँसी वितरण गरिएको हो। साथै, विद्युत मोटर, पम्पसेट, मिल्क्यान, चिलिङ भ्याट, डिफ्रिज, मिल्क पम्प, मिल सेपरेटर लगायत डेरी व्यवसायमा अत्यावश्यक उपकरणहरू पनि वितरण गरिएको छ।
कार्यक्रम गरुडा–४ स्थित श्री राम जानकी मठ बगैचामा आयोजना गरिएको थियो। कार्यक्रममा गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी प्रसाद जैसवाल, विभिन्न वडाध्यक्ष, जनप्रतिनिधिहरू तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। उक्त सामग्री तथा पशु आपूर्ति मुक्तिनाथ ट्रेडिङ लिमिटेड र मुक्तिनाथ लाइभस्टक बैंक लिमिटेड मार्फत गरिएको हो।
नगर प्रमुख जैसवालले कार्यक्रममा बोल्दै भन्नुभयो, “कृषि तथा पशुपालन व्यवसायलाई प्रविधिमैत्री बनाउँदै आत्मनिर्भर नगर बनाउने हाम्रो लक्ष्य हो। किसानको जीवनस्तर उकास्न यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिइनेछौ।
” कृषकहरूले कार्यक्रमप्रति सन्तुष्टि जनाउँदै भौतिक सामग्री र पशु अनुदानले व्यवसाय विस्तारमा ठूलो सहयोग हुने विश्वास व्यक्त गरेका छन्।
नगर प्रमुख जैसवाल: पानी नपर्दा किसानहरू चिन्तित छन् नगर प्रमुख जैसवालले हालको समयमा वर्षा नहुँदा किसानहरू गम्भीर रुपमा चिन्तित रहेको बताएका छन्।
उहाँका अनुसार धान रोपाइँको मुख्य सिजनमा पानी नपरेका कारण अधिकांश किसानको खेती रोकिएको छ, जसले आगामी उत्पादनमा प्रत्यक्ष असर पर्नेछ। “जलवायु परिवर्तनको असर अहिले प्रत्यक्ष देखिन थालेको छ। वर्षा याममा पनि पानी नपर्नु गम्भीर विषय हो,” प्रमुख जैसवालले बताए। उहाँले किसानलाई राहत दिन नगरपालिका स्तरबाट वैकल्पिक उपायहरूबारे छलफल भइरहेको जानकारी समेत दिनुभयो।




