वीरगञ्ज, ११ श्रावन। मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका–२ स्थित हेवी चोकबाट सशस्त्र प्रहरीले ठुलो मात्रामा लागूऔषधसहित चार जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।
बिहीबार राति करिब विशेष सूचनाको आधारमा गरिएको कारबाहीमा उनीहरूलाई लागूऔषधसहित समातिएको हो ।
पक्राउ पर्नेमा भारतका ४३ वर्षीय शेख सपुर, १९ वर्षीय निसाव आलम, २५ वर्षीय ओसिम अहमद र २४ वर्षीय शेख गजुर रहेका छन् । शेख गजुर उक्त गाडीका चालक समेत रहेका थिए ।
भारतको सुगौलीबाट पर्साको वीरगञ्ज हुँदै काठमाडौँतर्फ जाँदै गरेको बीआर ०५ पीए ९०९३ नम्बरको स्कारपियो गाडीको तीन वटा ढोकामा फल्स बटम (नक्कली तह) बनाइ तस्करी गरिएको लागूऔषध फेला परेको हो ।
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस कुलेखानीबाट सशस्त्र प्रहरी निरीक्षक अमृत थापाको नेतृत्वमा खटिएको टोलीले उक्त कारबाही गरेको हो ।
बरामद लागूऔषधमा नोफिन २ हजार ४ सय थान, डायजेपाम २ हजार ४ थान, प्रोमेथाजिन हाइड्रोक्लोराइड २ हजार ४ सय थान, र ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल ५ थान रहेका छन् ।
पक्राउ परेकाहरूले लागूऔषध कुन प्रयोजनका लागि ल्याइएको हो भन्नेबारे खुलाउन नसकेको सशस्त्र प्रहरीले जनाएको छ ।
पक्राउ परेका चार जनालाई लागूऔषध र प्रयोग गरिएको सवारीसाधनसहित आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय भीमफेदीमा बुझाइएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।


